दुलहीको भेषमा बग्गीमा कहाँ गइन् गरिमा शर्मा ?

काठमाडौं । आगामी जेठ २३ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जन्ते बाख्रो’ निर्माण टिमले प्रचारमा फरक शैली अपनाइरहेको छ ।

यसअघि देशभरका विभिन्न ठूला शहरहरूमा चल्ने साना सवारी साधन टेम्पोमा पोस्टर टाँसेर दर्शकलाई आकर्षित गरेको निर्माण टिमले हिजो शनिबार राजधानीमा यो चलचित्रको फरक शैलीको प्रचारको कार्यक्रम आयोजना गरेको थियो ।

‘जन्ते बाख्रो’ टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम शनिबार सिटी स्क्वायर मलको प्राङ्गणमा भव्यताका साथ सम्पन्न गरेको छ ।

अभिनेत्री गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर सामाखुसीस्थित बिजी मलबाट ‘जन्ते बाख्रो’ अङ्कित टिसर्ट र बोकाको टाउकोसहितको कटाउटमा केही युवालाई प्रस्तुत गर्दै कार्यक्रम स्थलसम्म बिबाहको शैलीमा पन्चे वाजासहित पुर्याएको थियो ।

जहाँ चलचित्रको निर्माण टिमले ‘जन्ते बाख्रो साँझ’को आयोजना गरिएको थियो । त्यहाँ सिनेमामा समावेश गीतहरु ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’, ‘मुकु मुकु म्या’का गायक गायिकाहरु बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतले सयौं दर्शकलाई झुमाएका थिए ।

चलचित्रको निर्माण टिमले आयोजना गरेको जन्ते बाख्रो साँझमा सिनेमाका मुख्य कलाकारहरू आसिफ शाह, गरिमा शर्मा, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतम, निर्देशक सिमोर सुनुवार, लेखक प्रदिप भारद्वाज र निर्माता सन्तोष गौतमको उपस्थिति रहेको थियो ।

यस्ता, प्रमोसनल इभेन्टले चलचित्रसँग दर्शकलाई प्रत्यक्ष जोड्न सघाउने भएकाले पनि आयोजना गरिएको निर्देशक सुनुवारले बताए ।

अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहति जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ ।

यो चलचित्रलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । सिनेमा आगामी जेठ २३ गतेदेखि नेपालभर प्रदर्शन हुँदै छ ।

मुइन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमामा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।

टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।