आमिर खानले ‘महाभारत’लाई किन माने अन्तिम चलचित्र ?

काठमाडौं । अभिनेता आमिर खानलाई बलिउडको मिस्टर परफेक्शनिस्ट भनिन्छ । उनी वर्षमा एउटा चलचित्र बनाउँछन् र अभिनय गर्छन् ।
आमिरले बनाउने चलचित्रको कथादेखि चित्रीकरणसम्म सबै कुरा यति अद्भुत हुन्छ कि दर्शक स्वतः थिएटरतिर आकर्षित हुन्छन् । तर, पछिल्ला धेरै वर्षदेखि आमिर खानले एउटा सिनेमा बनाउने सपना देखिरहेका छन् र त्यो हो ‘महाभारत’ ।
अभिनेता खानका पछिल्लो पटक प्रदर्शनमा आएका दुई सिनेमा ‘ठग्स अफ हिन्दूस्तान’ र ‘लाल सिंह चड्ढा’ व्यावसायिक रूपमा असफल भए ।
निकट भविष्यमा उनको नयाँ चलचित्र ‘सितारे जमीं पर’ प्रदर्शन हुँदैछ, जसको ट्रेलर केही समयअघि सार्वजनिक भइसकेको छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । ‘ठग्स अफ हिन्दूस्तान’ र ‘लाल सिंह चड्ढा’ असफल भएकाले यसपटक उनलाई निकै ठूलो दबाब छ ।
अब नयाँ जोशका साथ दर्शकमाझ फर्किन लागेका उनले आफ्नो एक ड्रीम प्रोजेक्ट ‘महाभारत’ को पनि घोषणा गरेका छन् – जुन उनले आफ्नो अन्तिम फिल्म हुने संकेत दिएका छन् ।
हालै युट्युबर राज शामानीलाई दिएको अन्तर्वार्तामा आमिर खानले निजी जीवनदेखि लिएर फिल्म करियरसम्म खुलस्त कुरा गरेका थिए । सोही क्रममा उनले ‘महाभारत’लाई लिएर महत्वपूर्ण अभिव्यक्ति दिएका छन् ।
उनले भने, “मेरो सपना ‘महाभारत’ बनाउने हो । ‘सितारे जमीं पर’ रिलिज भएपछि म जुन २० बाट त्यसमा काम सुरु गर्नेछु । मलाई लाग्छ यो यति गहिरो र विशाल परियोजना हो कि यसपछि मैले अरु केही गर्नु नपर्ला जस्तो लाग्छ ।”
आमिरका अनुसार ‘महाभारत’ को कथा, स्केल र भावनाले भरिएको छ । “सायद यो फिल्म गरेपछि मलाई लाग्नेछ कि अब मसँग दिन बाँकी केही छैन,” उनले भने, “तर म चाहन्छु, म काम गर्दागर्दै मर्ने कलाकार बनौं । त्यसैले यो फिल्मपछि संन्यास लिने विषयमा सोच्न सक्छु ।”
केही समय अघि द हलिउड रिपोर्टर सँगको कुराकानीमा पनि आमिरले ‘महाभारत’ आफ्नो करिअरको सबैभन्दा महत्वाकांक्षी प्रोजेक्ट रहेको बताएका थिए । यो फिल्मको स्क्रिप्ट लेख्न मात्रै पनि वर्षौं लाग्ने उनले खुलासा गरेका छन् । आमिरको अनुसार यति ठूलो प्रोजेक्ट एक जना निर्देशकले मात्र बनाउन सम्भव नहुने हुनाले यसमा टिम वर्क अत्यावश्यक हुनेछ ।
आमिरले ‘महाभारत’ मा भगवान कृष्णको भूमिका निभाउने चर्चा छ । यसबारे उनले प्रस्ट रूपमा पुष्टि नगरे पनि फिल्मप्रतिको उनको गहिरो भावनाले यो अनुमान बलियो बनाएको छ।
यसैबीच, आमिर ‘लाहोर १९४७’ नामक फिल्ममा पनि देखिने चर्चा छ, जहाँ सनी देओल मुख्य भूमिकामा छन् । यसमा आमिरको क्यामियो भूमिका रहेको बताइएको छ ।
‘महाभारत’ मा दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको संलग्नताबारे पनि चर्चा चलिरहेको छ । हालै सार्वजनिक भएको दुबै कलाकारको फोटोले यो हल्ला थप बलियो बनाएको हो ।
यसरी, आमिर खानको ‘महाभारत’ न केवल उनको ड्रीम प्रोजेक्ट हो, यो सम्भवतः उनको अन्तिम सिनेम्याटिक यात्रा पनि हुन सक्छ – जुन कुरा उनले आफैंले संकेत गरेका छन् ।