कति हो निकै मंहगो भनेको ?

काठमाडौं । केही दिनअगाडि एउटा समाचार आयो, जापानबाट । समाचार थियो केही दिन अगाडि जापान गएकी कृषा चौलागाईंको । समाचार थियो, उनले निर्देशन गर्ने नयाँ सिनेमाको ।

उनले सिनेमा साइन गरेको तस्बिर पनि आयो । जापानका नेपाली चलचित्र वितरण गर्दै आएको वितरक कम्पनी यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाईंको कम्पनीले सिनेमा बनाउने र त्यो सिनेमाको निर्देशन कृषाले गर्ने । खबर त सुखद् नै हो ।

समाचारमा थियो सिनेमा जापान, फिलिपिन्स र नेपालमा खिचिने । सिनेमामा कलाकार पनि तीनवटै देशका रहने ।

समाचारमा यो पनि थियो– निकै महंगोमा कृषाले सिनेमा साइन गरिन् । आशय थियो, कृषाले हालसम्मकै महंगो पारिश्रमिक लिइन् ।

मंहगो भनेको कति हो ? पारिश्रमिक खुलाउन नहुने हो ? अहिलेसम्मकै महंगो हो भने त झनै राम्रो । छुट्टै समाचारको विषय नै हो । निर्देशकलाई ब्रान्डिङ नै गर्ने विषय हो ।

महंगो भन्ने तर रकम नखुलाए पछि महंगोमै सिनेमा साइन गरेको भनेर कसरी विश्वास गर्नु ?

पछिल्लो समय अर्को पनि एउटा भ्रम छर्ने काम भइरहेको छ । हरेक सिनेमाले यो भ्रम छरिरहेका छन् । त्यो हो अहिलेसम्मकै मंहगो मूल्यमा विदेश राइट्स बिक्री भयो ।

कति हो महंगो भनेको ? ऐतिहासिक महंगो भए त कागजी सम्झौता गरेकै हुन्छ सार्वजनिक गरे हुँदैन र ?

नजिकका व्यक्ति तथा तीनका आफन्तबाट बुझ्दा के को हालसम्मकै महंगो हुनु सेयरमा बसेका हुन्छन्, अथवा सिनेमा जति चल्यो त्यसको निश्चित प्रतिशत पाउने सर्तमा बसेका हुन्छन् । एडभान्सस्वरुप १०/१५ लाख लिएका हुन्छन् ।

भ्रम छर्नलाई मंहगो मूल्य भनेर आँखामा छारो हाल्ने काम गरिरहका छन् । यो भ्रम छर्ने काम कहिलेसम्म हो, थाहा छैन । निर्माता, निर्देशक र वितरकलाई लागेको होला यो सबैले पत्याइरहेका छन् । तर, होइन यो मंहगो मूल्य भ्रमको खेतीबाहेक केही होइन भन्ने पाठकलाई राम्रैसँग थाहा भइसकेको छ । यसले केही फरक पर्नेवाला छैन । बरु झुटको खेती गर्ने टिम वा व्यक्ति भन्ने पहिचान मात्रै बन्छ । त्यसैले झुट र भ्रमको खेती बन्द पो गर्ने हो कि ?