‘महाराजधिराज’मा गजित र आशा अनुबन्ध

काठमाडौं । परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘महाराजधिराज’मा कलाकार गजित विष्ट र आशा पौडेल पनि जोडिएका छन् ।
छायांकनको अन्तिम तयारीमा रहेको यस चलचित्रमा लगातार एकपछि अर्को कलाकार अनुबन्ध गरिरहेको टिमले मंगलवार यी दुई कलाकारलाई अनुबन्ध गरेको हो ।
स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले अहिले सम्म सार्वजनिक स्टारकास्टलाई हेर्दा यो चलचित्र फरक स्वादको कथावस्तुमा आधारित हुने संकेत देखिएको छ, जहाँ पुराना र नयाँ पुस्ताका कलाकारहरूको सशक्त मिश्रण देख्न सकिनेछ ।
‘महाराजधिराज’मा आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, पुष्प खड्का र जय किशन बस्नेत यसअघि नै अनुबन्ध भइसकेका छन् । नायिकामा वर्षा राउत र वर्षा शिवाकोटी फाइनल भएका छन् ।
कलाकार विष्टले ‘महाराजधिराज’मा जोडिन पाउँदा खुशी व्यक्त गरेका छन् ।
यस्तै, थुप्रै म्युजिक भिडियो तथा टेलिफिल्महरुमा समेत अभिनय गरेकी आशाले ‘महाराजधिराज’मा आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै निकै उत्साहित देखिएकी छन् ।
यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।
चलचित्रका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।