भीपीसीमा २५ प्रतिशत छुट पाएपछि किन छन् निर्माता दङ्ग ?

काठमाडौं । डिजिटल सिनेमा नेटवर्क (डीसीएन)ले भर्चुअल प्रिन्ट कस्ट (भीपीसी)मा २५ प्रतिशत शूल्क घटाएको छ । चलचित्र निर्माताहरूले भीपीसी शूल्क बढी भएको भन्दै लामो समयदेखि घटाउन माग गर्दै आएका थिए ।

डीसीएनले निर्माताको माग सम्बोधन गर्दै भीपीसीबापत लिँदै आएको शूल्कमा २५ प्रतिशत शूल्क कम गरेको हो । यसका लागि भने निर्माता संघले डीसीएनसँग छलफल गर्दै आएको थियो ।

बुधबार पनि संघका पदाधिकारी र डीसीएनका सञ्चालक अशोक शर्माबीचको छलफलमा भीपीसीमा २५ प्रतिशत छुट दिने सहमति भएको थियो ।

निर्माताले सिनेमा प्रदर्शन हुनुभन्दा अगाडि नै एकमुष्ट शूल्क बुझाएको खण्डमा प्रति चलचित्र एक लाख ७० हजार रुपैयाँ भीपीसी चार्ज तिर्नुपर्थ्यो । यो रकममा डीसीएन २५ प्रतिशत घटाउन तयार भएको हो ।

अब प्रतिचलचित्र एक लाख २७ हजार ५०० रुपैयाँ तिरे पुग्नेछ ।

तर, निर्माताले म एकैपल्ट तिर्दिनँ चलचित्र रिलिज भएपछि हरेक शोको तिर्छु भनेको अवस्थामा भने हरेक शोको टु के फिल्मको ५० रुपैयाँ र नन् टुकेको २५ रुपैयाँ तिर्नुपर्थ्यो । यसमा पनि अब निर्माताले २५ प्रतिशत घटाएर तिर्नेछन् ।

भीपीसीमा भएको यो छुटलाई निर्माताले ठूलो उपलब्धीका रूपमा लिएका छन् । रेगुलर सिनेमा बनाउनेका लागि यो छुटले निर्माताले राहत महसुस गर्ने निर्माता संघले बताएको छ ।

हलबाट एक/दुई दिनमै उत्रिएको चलचित्रले एकमुस्ट एक लाख ७० हजार रुपैयाँ तिर्दा पनि निर्माताले ठूलो रकम यतिकै गुमाउने र करोडौैँ रुपैयाँको व्यापार गर्ने चलचित्रले पनि प्रति शो ५० का दरले तिर्दा पनि लाखौँ रुपैयाँ डीसीएनलाई तिर्दा निर्माता सिनेमा चले पनि र नचले पनि मारमा पर्ने अवस्था रहेको थियो ।

आजको निर्णयबाट केही हदसम्म भए पनि निर्माताको रकम घटेको संघले महसुस गरेको छ ।

अहिले अधिकांश सिनेमा टुकेमा रिलिज हुने गरेका छन् ।

चल्नेभन्दा पनि नचल्ने सिनेमाका निर्माताका लागि केही हलसम्म भए पनि राहत हुने निर्माताहरूले प्रतिक्रिया दिएका छन् ।