‘पूर्ण बहादुरको सारङ्गी’पछि एक सय दिन मनाउने दोस्रो बन्यो ‘लाज शरणम्’

काठमाडाैं । कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १००औँ दिनमा प्रवेश गरेको छ । बिहिवार काठमाडौंका दुईवटा सिनेमाहलमा प्रदर्शनको एक सायौं दिन पार गरेको हो ।

शिवरात्रिको अवसर पारेर गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको उक्त चलचित्रले काठमाडौँको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स र गोंगबुस्थित विएसआर मुभिजमा प्रदर्शनको एकसय दिन पूरा गरेको हो ।

चलचित्र ‘लाज शरणम्’ गत वर्ष कात्तिक १५ गते रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’पछि एक सय दिन मनाउने दोस्रो सिनेमा हो ।

‘लाज शरणम्’मा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायत लगायतको अभिनय छ । यो चलचित्रमा निर्देशक समेत रहेका कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि विशेष भूमिकामा छ ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् । राम नरेश शाह र सिर्जना खड्का सह-निर्माता रहेका छन् ।

प्रदर्शनको एकसय दिन पूरा गरेसँगै निर्माता श्रेष्ठ भन्छन्,“पहिलो चलचित्रमा प्राप्त गरेको मायाप्रति म निकै आभारी छु । समसामयिक विषयलाई समेटेर चलचित्र निर्माण गरेकै कारण दर्शकले रुचाउनुभयो, यसले हौसला र दायित्व दुवै थपेको छ । आगामी दिनमा थप राम्रो गर्ने प्रयास हुनेछ ।”

निर्माता श्रेष्ठले आगामी चलचित्र ‘पाँच पाण्डव’ नामक चलचित्र निर्माण गर्ने तयारी समेत गरेका छन् । उक्त चलचित्रको पटकथा सुशील पौडेलले तयार गरिरहेका छन् भने वसन्त निरौलाले निर्देशन गर्ने तय भएको छ। उक्त चलचित्र आगामी भदौ आसपासमा छायाङ्कन गर्ने तयारी गरिएको उनले बताए ।

यस्तै निर्माता श्रेष्ठले ‘लाज शरणम् २’ पनि निर्माणको तयारी भइरहेको जानकारी दिए । डिजिटल प्रविधिमा चलचित्र हुने समयमा ‘लाज शरणम्’ ले प्रदर्शनको सय दिनु पूरा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।