स्व. घनश्याम गौतम ‘नक्कली प्रचण्ड’को परिवारलाई बोर्डले गर्यो आर्थिक सहयोग

काठमाडौं । चर्चित हास्यकलाकार घनश्याम गौतमको परिवारलाई चलचित्र विकास बोर्डले आर्थिक सहयोग गरेको छ ।
बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषमार्फत मृत्यु संस्कारमा सहयोगवापत उनको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषाल, सदस्यहरू एवं चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली तथा कलाकार रवीन्द्र खड्काको टोली पशुपतिस्थित क्रियापुत्री भवनमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।
यसअघि पनि गौतमको उपचारका क्रममा पनि चलचित्र विकास बोर्डले कल्याणकारी कोषमार्फत एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । क्यान्सरसँग संघर्षरत गौतमको जेठ १९ गते राति ११ः४५ बजे भक्तपुर ताथलीस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।
झापा गौरादहमा जन्मिएका उनले ‘नक्कली प्रचण्ड’ बनेर गरेको व्यंग्य निकै चर्चित बनेको थियो ।