‘जन्ते बाख्रो’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?

काठमाडौं । शुक्रबारबाट प्रदर्शनको तयारी रहेको सिनेमा ‘जन्ते बाख्रो’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको सिनेमाले बुधबार साँझ आयोजित प्रिमियर शोमा समेत उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

प्रिमियर शोमा मिलेको उत्साहजनक प्रतिक्रियाको प्रभाव शुक्रबारबाट हलमा देखिने विश्वास निर्माण टिमको छ ।

यसैबीच, देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलले अग्रिम टिकट बुकिङमा सिनेमालाई उत्साहजनक शो उपलब्ध गराएका छन् । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा १७ शो र मोफसलमा २० गरी ३७ शो उपलब्ध गराएको छ ।

दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले १२ शो, वान सिनेमाजले ७ शो, एफक्यूब सिनेमाजले २ शो, बिग मुभिजले २ शो, बिएसआर मुभिजले २ शो गरी देशभर करिब १५० बढी शोसहित प्रदर्शनमा आउँदैछ ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मुइन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।

नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।