सकियो ‘मन बिनाको धन’को छायांकन

काठमाडौं । टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘मन बिनाको धन’को छायांकन सकिएको छ । गायक अशोक दर्जीको मुख्य अभिनय रहेको चलचित्रको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरिएको छ ।

मुस्ताङ, काठमाडौं र पोखरामा छायांकन गरिएको छ । निर्देशक टंकका अनुसार चलचित्र तिहारको समयमा रिलिज गर्ने तयारी भइरहेको छ ।

अशोक दर्जीसँगै चलचित्रमा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झालगायतको अभिनय छ ।

सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्रको कथा टंक बुढाथोकी आफैले लेखेका छन् । पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन् । फिल्मको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् ।