युरोपमा नेपालीको संघर्षको कथा भन्ने चलचित्र ‘रातो पासपोर्ट’को घोषणा

काठमाडौं । नेपाली चलचित्र ‘रातो पासपोर्ट’ निर्माण हुने भएको छ । युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने संघर्षको कथालाई चलचित्रले पर्दामा उतार्ने जनाइएको छ ।

सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस चलचित्रको निर्देशन सिमसोन तामाङले गर्दैछन् । चलचित्रको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीपकुमार चौधरीले तयार पारेका छन् ।

मिनिमल पोस्टर सार्वजनिक गर्दै आइतबार निर्माणको घोषणा भएको हो । पोस्टरको थिम युरोपको देश पोर्चुगलको पासपोर्टको कभर पेजको स्टाइलमा तयार पारिएको छ ।

‘रातो पासपोर्ट’मा लोक बहादुर तामाङ निर्माताको रूपमा छन् र प्रवेश पौडेल कार्यकारी निर्माताको भूमिकामा रहनेछन् ।

चलचित्रको प्राविधिक टिममा मेकअप तथा एसएफएक्सका लागि अमृत मरहट्ठा, छायाकारका रूपमा रवीन्द्र न्यौपाने र संगीतकारका रूपमा जयन जे. वाइबा जोडिएका छन् ।

निर्देशक सिमसोन तामाङ नेपाली चलचित्र उद्योगमा एक्सन निर्देशक तथा प्रमुख सहायक एक्सन निर्देशकका रूपमा लामो समयदेखि सक्रिय छन् ।