कलाकारलाई तौलले दिन्छ सधैँ दुःख, एक महिनामा २० केजी वेट लुज गर्न सकिन्छ ?

काठमाडौं । शरीर अनुसारको तौल बनाएर फिट हुने रहर सबैलाई हुन्छ । पहिलो त शरीर फिट भए स्वास्थ्यका हिसाबले स्वस्थ भइन्छ । दोस्रो हेर्दा आकर्षक भइन्छ ।
यसबाहेक पछिल्लो समय भित्री स्वास्थ्य जे भए पनि आवरण चिटिक्क र दुरुस्त हुने ट्रेन्ड छ । पातलो र आकर्षक शरीर बनाउने त अहिले फेसनजस्तै छ । छातिको करङ देखिए त्यसलाई ब्युटी बोन भन्ने चलनले यस्तै देखिने होडमा अहिलेको युवा पुस्ता छ ।
पातलो र आकर्षक शरीर बनाउने रहर सबैलाई हुन्छ, त्यसबाहेक पनि सेलिब्रेटीलाई अझै धेरै हुन्छ । शरीर मेन्टेन राख्ने एउटा पक्ष अर्को चलचित्रको चरित्रअनुसार कहिले मोटाउनु त कहिले दुब्लाउनुपर्ने बाध्यता चलचित्रकर्मीहरूलाई भइरहन्छ ।
छोटो समयभित्र अथवा एक/दुई महिनाभित्रै १५/२० किलो तौल घटाउनुपर्ने बाध्यतामा कलाकार हुन्छन् । एक/दुई महिनाभित्रै १५/२० केजी तौल घटाउन (वेट लुज) गर्न सम्भव छ ?
निरभाना हेल्थ होमका सञ्चालक समेत रहेका डा. लोकेश कर्ण तौल घटाउने सबैभन्दा प्रभावकारी माध्यम थ्रेड इम्बेडिङ अकुपन्चर भएको बताउँछन् । उनका अनुसार यसलाई तौल घटाउनका लागि क्रान्तिकारी माध्यम मान्ने गरिएको छ ।
तौल घटाउनलाई यो विधि परम्परागत तर नवीन प्रविधि लोकप्रिय हुँदै गइरहेको उनी बताउँछन् ।

थ्रेड इम्बेडिङ अकुपन्चर परम्परागत चिनियाँ चिकित्सा (टीईए)मा आधारित छ । यो विस्तारै संसारभर आक्रामक रुपमा विस्तार हुँदै गइरहेको छ । न्यून साइड इफेक्टका कारण यो विधि लोकप्रिय भइरहेको छ ।
मोटोपनसँग संघर्ष गरिरहेकाहरूका लागि यो एक भरपर्दो र मनपर्ने विकल्प भएको डा. कर्णको भनाइ छ ।
अध्ययनहरूका अनुसार अकुपन्चर विधिबाट व्यक्तिहरूलाई सन्तुलित आहार र हल्का व्यायामबाट प्रतिमहिना २ देखि १० किलोग्राम तौल घटाउन सकिन्छ । क्रस डाइट वा तीव्र कसरतको विपरीत तौल घटाउने यो प्रक्रिया क्रमिक र दिगो हुन्छ, जसले गर्दा तौल बढ्ने जोखिम कम हुन्छ ।
अन्य तौल घटाउने विधिहरूभन्दा यो राम्रो र भरपर्दो रहेको डा. कर्ण बताउँछन् । शल्यक्रिया गर्नुनपर्ने, जोखिम कम हुने, न्यूनतम आक्रामक नहुने, प्राकृतिक रूपमा मेटाबोलिज्म बढाउने, कुनै अत्यधिक आहार वा थकाउने कसरत नहुने भएकाले तौल घटाउन सहज हुने उनको भनाइ छ ।
कडा आहारविहार गर्नु नपर्ने, स्वस्थ खानाले परिणामहरू दिने, अत्यधिक क्यालोरी बन्द गर्नुनपर्ने, दैनिक जिम गर्नु नपर्ने तथा प्रत्येक प्रक्रियामा दैनिक लगभग ३० देखि ४५ मिनेट मात्रै लाग्ने भएकाले यो सहज रहेको उनको भनाइ छ ।
“तौल घटाउने क्रममा एक विशेषज्ञ अकुपन्चर डाक्टरले तौल घटाउने लक्ष्य र चिकित्सा इतिहासको मूल्यांकन गर्छन्,” डा. कर्ण भन्छन्, “त्यसपछि व्यक्तिको स्वास्थ्य, उसले तौल कति घटाउन चाहेको हो र त्यसको मूल्यांकन गरेर चिकित्सिकीय प्रक्रिया सुरु गर्छन् । ”
चिकित्सकीय पद्धति अपनाएपछि हल्का दुखाइ हुने वा सानो घाउजस्तो देखिने तर त्यो १/२ दिन भित्रै हराउने उनको भनाइ छ ।
“तुरुन्तै सामान्य गतिविधिहरू पुनः सुरु गर्न सकिन्छ । सामान्य कामका लागि कुनै आरामको जरुरत पर्दैन,” डा. कर्ण भन्छन्, “केही घण्टाभित्र भोक कम भएको महसुस हुन्छ । दीर्घकालीन प्रभावहरू देखिन भने हप्ताभन्दा बढी समय लाग्छ ।”
२ देखि ६ हप्तामा प्राकृतिक रूपमा बोसो पग्लिन थालेपछि खानपान मिलाउँदा क्रमिक तौल घट्ने र प्रतिमहिना २ देखि १० किलोसम्म घट्ने उनी बताउँछन् ।
यो विधिपछि पाचनमा रहेको समस्या पनि केही हदसम्म समाधान हुने र शरीर फुर्तिलो हुने डा. कर्णको भनाइ छ ।
लक्ष्य हासिल गर्न प्रशस्त पानी पिउने, फाइबरयुक्त खाना खाने, जंक फुड नखाने, हल्का व्यायाम (हिँड्ने, योग, वा स्ट्रेचिङ) गर्ने र पर्याप्त निद्रा आवश्यक हुन्छ ।
थ्रेड इम्बेडिङ विशेषज्ञ अकुपन्चर डाक्टरहरूद्वारा मात्रै गराउन डा. कर्णको सुझाव छ । रक्तस्राव वा गम्भीर एलर्जी भएका व्यक्तिहरूले प्रक्रिया गर्नुअघि डाक्टरसँग परामर्श गर्नुपर्ने उनको भनाइ छ ।
“गर्भवती महिला, रक्तस्राव भइरहेका व्यक्त वा गम्भीर छाला संक्रमण भएका व्यक्तिहरूको लागि थ्रेड इम्बेडिङ अकुपन्चर सिफारिस गरिएको छैन,” उनले भने, “यो तौल घटाउनको लागि सुरक्षित, सुविधाजनक र औषधिरहीत विकल्प हो ।”