पोखरामा ‘महाभोज’को प्रिभ्यु प्रिमियर सम्पन्न, दर्शकबाट प्रशंसा र आक्रोश दुवै
काठमाडौं । चलचित्र ‘महाभोज’ को पोखरामा भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ ।
सोमबार चलचित्रको निर्माणपक्षले आयोजना गरेको प्रिभ्यु प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक राउत तथा निर्माता हिमाल कडरिया लगायतको उपस्थिति रहेको थियो ।
उक्त प्रिमियरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, सहकारी पीडितहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू र सञ्चारकर्मीहरूको समेत उल्लेख्य उपस्थिति थियो।
दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ले सहकारी ठगीको मारमा परेको परिवारको स्थिति, यसले समाजमा पारेको प्रभाव तथा प्रत्येक व्यक्ति कसरी प्रभावित छन् भन्ने कथा मनोरञ्जनात्मक तथा भावनात्मक तरिकाले भन्छ ।
‘महाभोज’ हेरेपछि दर्शकहरूले कथावस्तु, प्रस्तुति शैली र कलाकारहरूको उत्कृष्ट अभिनयको खुलेर प्रशंसा गरे । साथै चलचित्रले उठाएको विषयवस्तु र सन्देशले दर्शकहरूमा आक्रोशको भावनासमेत देखिएको थियो ।
सहकारी पीडितहरूको वास्तविक कथा समेटिएको ‘महाभोज’ ले गहिरो प्रभाव छोडेको भन्दै केही दर्शकहरूले चर्को स्वरमा यसले समाजमा विद्रोहको लहरसमेत ल्याउन सक्ने टिप्पणी गरे । उनीहरूका अनुसार चलचित्र सत्ताधारीहरूलाई पनि झक्झक्याउने खालको छ ।
दर्शकहरूले चलचित्रमा कुनै पनि दृश्य हटाउने वा सम्पादन गर्न दबाब सिर्जना भए त्यसको विरोधमा उभिने चेतावनीसमेत दिएका छन् ।
यसअघि काठमाडौंमा आयोजित प्रिभ्यु शोमा पनि चलचित्र ‘महाभोज’ले सकारात्मक प्रतिक्रिया बटुलेको थियो । दर्शकहरूले ‘महाभोज’ लाई गम्भीर सन्देश बोकेको र मनोरञ्जक दुवै रुपमा उत्कृष्ट चलचित्र बताएका थिए ।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेम को ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको सशक्त अभिनय रहेको छ ।
‘महाभोज’ यही शुक्रबार, जेठ ३० गते बाट देशभर प्रदर्शनमा आउने तयारीमा छ । पोखराको प्रिमियरपछि चलचित्रको प्रिमियर कार्यक्रम क्रमशः बुटवल, विराटनगर र धरानमा समेत आयोजना गरिने निर्माणपक्षले जनाएको छ ।



