पहिलोपटक सहकार्य गर्दै दयाहाङ र प्रकाश

काठमाडौं । कलाकार दयाहाङ राई र प्रकाश सपूतले पहिलोपटक सहकार्य गर्ने भएका छन् । चलचित्र ‘मिरमिरे’मा यी दुई कलाकार अनुबन्ध हुँदा दयाहाङ र प्रकाशले पहिलोपटक सहकार्य गर्ने भएका हुन् ।

‘परदेशी–२’बाट अभिनयको यात्रा सुरु गरेका प्रकाशले दयाहाङसँग सँगै काम गरेका थिएनन् । ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘वसन्त’मा पनि प्रकाशले काम गरेका छन् । तर, यी चलचित्रमा दयाहाङ थिएनन् ।

प्रकाशले काम गरिरहेका ‘हरिबहादुरको जुत्ता’ र ‘सोल्टिनी’मा पनि दयाहाङ नहुँदा यी दुईको सहकार्यको संयोग ‘मिरमिरे’ले जुराइदिएको हो ।

‘मिरमिरे’मा दयाहाङ मुख्य भूमिकामा छन् । प्रकाश पनि महत्वपूर्ण भूमिकामा छन् ।

अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । “हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,” निर्देशक यम शेर्पाले भने, “हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारसँग कुरा गरिरहेका छौँ ।”
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिएका छन् । चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।