युट्युबमा सबैभन्दा धेरै खोजिएको चलचित्रको गीत, के कारण भयो हिट् ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा थुप्रै रेकर्ड छन् । विभिन्न कालखण्डमा बनेका सिनेमाहरूले फरकफरक रेकर्ड बनाइरहेका छन् ।
विभिन्न सिनेमाले बनाएका रेकर्डहरू हामीले क्रमैसँग प्रस्तुत गर्दै आइरहेका छौँ । यसैक्रममा हामी सबैभन्दा धेरै रुचाइएको नेपाली चलचित्रको गीतबारे आज चर्चा गर्दैछौँ ।
सबैभन्दा राम्रो अथवा लोकप्रिय गीत कुन हो भनेर खोज्ने हो भने त्यसको मापदण्ड के हो भन्ने कुरा आउँछ । यदि, युट्युबमा सबैभन्दा धेरै हेरिएको गीतलाई लोकप्रिय वा चर्चिच मान्ने हो भने त्यो गीत कुन हो जसले सबैभन्दा धेरै भ्युज युट्युबमा पायो भनेर भन्न सकिन्छ ।
हालसम्म युट्युबमा सबैभन्दा धेरै भ्युज पाउने चलचित्रको गीत ‘कुटुमा कुटु’ हो । यो गीत चलचित्र ‘२ रुपैयाँ’को हो ।
यसले हालसम्म २२ करोड ३० लाखभन्दा धेरै भ्युज पाएको छ ।
८ वर्ष अगाडि युट्युबमा अपलोड गरिएको गीतले २२ करोड ३० लाख भ्युज पाएको हो ।
गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको छ । स्वर राजनराज स्वयं र मेलिना राई तथा राजन इशानको छ । राजन इशानको संगीत संयोजन रहेको छ ।
यो गीतका लेखकले राजनराज गीत जनजिब्रोमा झुन्डिन सजिलो र सरल गीत नै हिट हुने बताएका छन् । शब्द तथा संगीत सरल र सहज भएकै कारण गीत लोकप्रिय भएको राजनराजले बताएका छन् । लोक लयको नजिक बसेर यो गीत कम्पोज गरिएको छ ।
करिब पाँच मिनेटको गीतमा अन्न, फलफूल, वनस्पती, सुन, कीराफट्यांग्रा, मानिस, चरा, जनावर ,धर्म, बवज्ञान, देश, विदेश समट्दै धुमपान तथा मद्यपान गर्नु हुँदैन भन्ने सामाजिक सन्देश दिएको उनले बताएका छन् ।
गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आशिफ शाह, बुद्धि तामाङलगायत कलाकारको नृत्य छ । अशिम शाहले भिडियो निर्देशन गरेका छन् । जो अहिले रास्वपाबाट संघीय संसद्का सांसद छन् ।
भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ । सिनेमेटोग्राफर शिवराम श्रेष्ठ हुन् भने भिडियो सम्पादन लोकेस बज्राचार्यले गरेका छन् ।
सिनेमाको गीतमा मात्रै होइन समग्र नोपली गीतको इतिहासमै यो गीत युट्युबमा सर्वाधिक धेरै हेरिने गीत हो ।