सुदूरपश्चिममा रहेको कु–प्रथाविरुद्ध सशक्तरूपमा आवाज उठाउँदै ‘मोहर’

काठमाडौं । चलचित्र मनोरञ्जन मात्रै होइन, यो एउटा समाज सुधारको माध्यम पनि हो । देशको कला, साहित्य र संस्कृतिको संरक्षण, संम्बद्र्धन र प्रवद्र्धनको माध्यम पनि हो ।
सँगै सिनेमा समाजमा भएका विकृति र विसंगती विरुद्धको प्रहार र चेतना फैल्याउने माध्यम पनि हो । त्यसैले त चलचित्र एक सशक्त माध्यम मानिन्छ । सशक्त माध्यम भएकै कारण अनुदारबादी देशमा सधैँ यसलाई नियन्त्रण गर्ने प्रयास गरिन्छ ।
चलचित्र ‘मोहर’ले पनि यस्तै एउटा विषय उठान गरेको छ । समाजमा रहेको ‘देउकी’ कूप्रथाविरुद्ध आवाज उठाउने संकेत गरेको छ । टिजरले यस्तो संकेत गरेको हो ।
के हो देउकी प्रथा ?
देउकी प्रथा नेपालमा प्रचलित सामाजिक कुप्रथाहरू मध्येको एक हो । सुदूरपश्चिमका मन्दिरहरूमा देवीदेवताको सेवा गर्न कन्या (केटी) चढाउने प्रचलन छ । यसरी चढाइएकी कन्या देउकी हुन् भने चढाउने प्रचलन प्रथा हो ।
महारोग लागेमा, छोरा नभएमा, मुद्दा जित्नु परेमा वा आफ्नो मनोकांक्षा पूरा गर्नुपरेमा, कुनै भाकल पूरा गर्न आफ्नै छोरी वा गरिब परिवारकी अबोध बालिका किनेर देवीदेवताको मन्दिरमा चढाउने गरिन्छ । यसरी चढाइएका कन्याहरूको विवाह गर्न नहुने तर यौन सम्पर्क गर्न हुने अन्धविश्वास रहेको छ । बैतडी जिल्लाको मेलौली देवीको मन्दिर यो प्रथाको केन्द्रविन्दु हो । मन्दिरमा चढाएको सामग्रीहरूबाट मात्र जिविकोपार्जन गर्नु पर्ने भएकोले देउकीहरू देहब्यापार गर्न बाध्य छन् ।
डोटीमा जुम्लाको रैका मल्ल राजाका वंशज नागीमल्लले कत्युरी नरेश (राजा)को राज्य विजय गरेपछि चलाएको ‘देउकी’ प्रथा र इतिहासकारहरूअनुसार प्रा.डा.सूर्यमणि अधिकारीका अनुसार डोटी राज्यमा राजा नागमल्लका पालादेखि देवदासी चढाउन थालिएको बताइन्छ ।
बालअधिकार विपरीतको प्रथा
आजको विकसित समाजमा यो प्रथा निकै ठूलो विकृतिको रूपमा छ । यो प्रथा बालअधिकार विपरीत कार्य हो । शिक्षाको विकास र चेतनामा भएको बृद्धका कारण यो प्रथामा केही कमी आए पनि पूरै निर्मुल हुन सकेको छैन ।
साउनको २३ गतेबाट रिलिजमा आउने यो चलचित्र ‘मोहर’लाई अनुभवी अभिनेता तथा निर्देशक ओम प्रतीकले निर्देशन गर्दैछन् । उनी आफैँले यो सिनेमाको कथा लेखेका छन् । उनले समाजमा जरा गाडेर बसेको यो प्रथाविरुद्ध आवाज उठाउने भएका छन् ।
पल शाह, बेनिशा हमाल, बाल कलाकार सारा शर्मा, नीति शाह, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।
फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको ‘मोहर’का निर्माता चुम्बन जंग शाही हुन् । रोशनजंग शाही चलचित्रका लाइन प्रोड्युसर रहेका छन् ।
कुमार महर्जनको एक्सन रहेको चलचित्रमा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ ।
चलचित्रको टिजर साहिल खानले तयार पारेका हुन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमाको प्रोडक्सन म्यानेजर लक्ष्मणराज पौडेल हुन् ।