दीया पुनले माउन्ट एल्ब्रुस सफल आरोहण गर्दै ‘सेभेन समिट्स’ यात्रामा थप पाइला टेकिन्

अभिनेत्री पुनले माउन्ट एल्ब्रुस सफल आरोहण गर्दै ‘सेभेन समिट्स’ यात्रामा थप पाइला टेकिन्

काठमाडौं । अभिनेत्री तथा पर्वतारोही दीया पुनले युरोप महादेशको सर्वोच्च शिखर माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन् ।

पेशाले नर्ससमेत रहेकी अभिनेत्री पुनले यो साहसिक यात्रा जुन १० मा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइडहरू लिउन अताबिएभ तथा एड्गरसँग संयुक्त रूपमा सम्पन्न गरेकी हुन् ।

यो अभियान एलिट एक्सपेडिसन प्रा.लि.को आयोजनामा सम्पन्न भएको हो । माउन्ट एल्ब्रुसको सफल आरोहणसँगै पुनले “सेभेन समिट्स” अर्थात् सातै महादेशका सर्वोच्च शिखरहरू आरोहण गर्ने आफ्नो लक्ष्यतर्फ एक कदम अघि बढेकी छन् ।

हालसम्म उनले चार महादेशका अग्ला शिखरहरू माउन्ट एभरेष्ट (एशिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण अमेरिका) र हालै आरोहण गरेको माउन्ट एल्ब्रुस (युरोप) सफलतापूर्वक चढिसकेकी छन् ।

उनका आगामी लक्ष्य बाँकी तीन शिखर कार्स्टेन्स पिरामिड (ओसियानिया), डेनाली (उत्तर अमेरिका), र माउन्ट विन्सन (अन्टार्कटिका) हुन् ।

यो अभियानमा उनले आफु अभिनित चलचित्र ‘एक्लो’ को पोस्टर र नेपालको राष्ट्रिय झन्डा पनि शिखरसम्म पुर्‍याएकी थिइन् । चलचित्र ‘एक्लो’ मा उनले पुन नामक अन्तरीक्षयात्रीको भूमिका निर्वाह गरेकी छन् ।

अभिनेत्री पुनको यो आरोहणले नेपाली महिला पर्वतारोहीहरूको प्रेरणादायी यात्रामा नयाँ अध्याय थपेको छ । अभिनय र साहसिकतामा समान रूपले अगाडि रहेकी पुनको यात्रा अझ प्रेरणादायी बन्दै गएको छ ।