सय दिननजिक पुग्यो ‘अञ्जिला’, क्युएफएक्स सिनेमाले १०० रुपैयाँमा देखाउने

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ । बुधबार ९१ औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो चलचित्र निरन्तर प्रदर्शनमा छ । बिहीबारको लागि उक्त हलमा ३ वटा शो प्रदान गरिएको छ ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले सय दिननजिक पुग्दै गर्दा क्युएफएक्स सिनेमाजले निरन्तर प्रदर्शनमा रहेको हलसहित देशभरका अन्य केही हलमा १०० रुपैयाँ दरमा चलचित्र देखाउने तयारी गरेको बताए ।

“दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ । तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा चलचित्र देखाउने भनेको छ । यसमा हामीले पनि समर्थन गरेका छौँ,” उनले भने, “सय दिनसम्म ऐतिहासिक रिलिज भइरहनु नेपाली चलचित्रको लागि सुखद कुरा रहेको कारण यो चलचित्र हेर्न चाहेका सबै दर्शकले हेर्न पाउन् भन्ने उद्देश्य लिएका छौँ ।”

मिलन चाम्सले निर्देशन गरेको ‘अञ्जिलाु वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँचभित्र परिसकेको छ । हालसम्म यस चलचित्रले १२ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन् ।

यो चलचित्र राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । यसमा एन्जिला आफैँले प्रमुख अभिनय गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

चलचित्रका निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन् । उनी त्यहाँका विभिन्न सहरहरूमा ‘अञ्जिला’प्रदर्शनको लागि पुगेका हुन् ।