धनगढीमा ‘सिनेमा संवाद’ कार्यक्रम हुने

धनगढी । सुदुरपश्चिम प्रदेशमा पहिलो पटक सिनेमा संवाद कार्यक्रम हुने भएको छ । देशका अन्य प्रदेशहरुमा हुदैं आएको सिनेमा संवाद कार्यक्रम सुदुरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गर्न थालिएको हो ।
जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा धनगढीमा ‘सिनेमा संवाद’ कार्यक्रम हुने भएको छ ।
जेठ ३१ गते बहस, संवाद र सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले सिनेमा संवाद कार्यक्रम गर्न लागेको आयोजक जेडी एसोसियट्सका प्रबन्ध निर्देशक दिनेश भण्डारीले जानकारी दिए ।
कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती र सिनेमा–समाज सम्बन्धबारे गहिरो छलफल गरिने जनाइएको छ ।
सुदूरपश्चिममा बढ्दो चलचित्रप्रति चासोलाई व्यवस्थित दिशातर्फ लैजान र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्दै यस प्रदेशमा चलचत्रि मार्फत पर्यटन प्रबद्र्धन गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग जोडेर सुदुरपश्चिम र यहाँको पर्यटन तथा सम्भावनाका बिषयमा छलफल हुनेछ । सिनेमा संवादमा सहभागी हुन मुलधारका चर्चित कलाकार र कलाकर्मीहरु धनगढी आउने छन् ।
सिनेमा संवाद कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा निर्माता–निर्देशक विराज भट्ट, अभिनेता दिव्य देव पन्त, पुष्प खड्का, अभिनेत्री सुरक्षा पन्त, उपासना सिंह ठकुरी लगायतका कलाकार सहभागी हुनेछन् ।