गीतकार यादव खरेललाई ५१ हजार राशीसहित दीर्घ साधना सम्मान

काठमाडौं । १२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । राजधानी आयोजित कार्यक्रममा म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा विशिष्ट गीतकार निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो ।
मन्त्री पाण्डे, बिशिष्ट गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कार्यक्रमकी संयोजक सबिता पोखरेल लगायतले ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित दोसल्ला ओढाएर विशिष्ट गीतकार खरेललाई सम्मान गरेका थिए ।
अवार्डमा सुगमसंगीतर्फ गायक गोविन्द मधुर आचार्य र गायिका बबिना भट्टराई सर्वोत्कृष्ट गायक गायिका घोषित भए । त्यस्तै आधुनिक विधातर्फ नरहरि प्रेमीले घर छोडेको मान्छे गीतबाट सर्वोत्कृष्ट संगीतकार बने भने महेश आचार्यले तिमी सँगै छैनौ गीतबाट सर्वोत्कृष्ट गीतकार बन्न सफल भए ।
गायिका अन्जु पन्त र गायक नरेश रेग्मीले धर्ती र जूनको कहानी गीतबाट सर्वोत्कृष्ट युगल गायनको अवार्ड चुम्न सफल भए । एउट जून गीतबाट सुशील बिक्रम शाहले सर्वोत्कृष्ट ध्वनि सम्पादन आधुनिकको अवार्ड चुमे । आदत गीतबाट विपिन आचार्यले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड चुम्न सफल भए । रुपेश थापाले तिमीबिना चल्दैन गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार बन्न सफल भए भने लामपाते सुरतीबाट रबिन बिकले सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादनको अवार्ड चुम्न सफल भए ।
पपगायनतर्फ गायक प्रेज्वल नेपालीले कस्तो माया गीतबाट सर्वोत्कृष्ट पप गायक बने । गायिका सारिका घिमिरे कलियुगकी राधा गीतबाट सर्वोत्कृष्ट पप गायिका बन्न सफल भइन् । गीतकार रमेश कोइराला सर्वोत्कृष्ट पप गीतकार बने भने जुगल डंगोल सर्वोत्कृष्ट पप संगीतकार बन्न सफल भए । सुदिप भण्डारी (जिबब) सर्वोत्कृष्ट ¥यापर बन्न सफल भए ।
लोकदोहोरीतर्फ गायक सरोज लामिछानेले खोली तरेको गीतबाट सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड चुम्न सफल भए । त्यस्तै गायिका सुनिता बुढा क्षेत्रीले उजेली गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् । कृष्ण केसीले ठूली गीतबाट सर्वोत्कृष्ट संगीत लोकदोहोरी, सन्तोष सापकोटा बस्यौ अलग्गै गीतबाट सर्वोत्कृष्ट गीतकार लोकदोहोरी, सामना शाह आँसुको वर्षात्बाट सर्वोत्कृष्ट महिला गीतकार, तेजेन्द्र दूरा तिम्रो जवानी गीतबाट सर्वोतकृष्ट संगीत संयोजक लोकदोहोरी, खड्ग बाजुराली ठूली गीतबाट सर्वोत्कृष्ट ध्वनि सम्पादन लोकदोहोरीको अवार्ड चुम्न सफल भए ।
त्यस्तै मौसम हिमालीले कश्मिरे पछ्यौरी गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीको अवार्ड चुम्न सफल भए । बादल घिमिरेले कसम तोड्ने भा गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला पुरुष र अस्मिता पुरीले फूलमाया गीतबाट सर्वोत्कष्ट म्यूजिक भिडियो मोडल महिलातर्फको अवार्ड चुम्न सफल भए । रेश्मा तामाङ जुध्यो नजर गीतबाट सर्वोत्कृष्ट कल्चरल गीत गायिका बनिन् ।
गायक शुक्र तामाङ र गायिका रेजिना परियारको ठट्यौली ठाडो भाका गीत सर्वोत्कृष्ट कल्चरल गीत बन्न सफल भयो । गायक रायन बस्याल घामको झुल्को गीतबाट सर्वोत्कृष्ट नवप्रतिभा गायकको अवार्ड चुमे भने उमेश भट्टले कतै म हराएँ कि गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो नवनिर्देशकको अवार्ड चुम्न सफल भए । गायक रामचन्द्र चन्दको पापीनीलाई गीत सर्वोत्कृष्ट लोकगीत बन्न सफल भयो । सबिन आचार्य र निशा गुरुङ सर्वोत्कृष्ट प्रत्यक्ष गायक गायिका घोषित भए । ए गौरी गीतबाट गायिका संगम लामिछाने र लजाउँदै लजाउँदै गीतबाट सुशील ज्ञवालीले पब्लिक च्वाइस अवार्ड लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए ।
त्यसैगरी चलचित्रविधा तर्फ गीतकार प्रमोद ढुंगानाले चलचित्र उपहारको ‘हारेको छैन’ गीतबाट सर्वोत्कृष्ट चलचित्र गीतकार बन्न सफल भए । संगीतकार अर्जुन पोखरेल ज्वाइँसाप चलचित्रको ‘कसम बत्तिको’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने । चलचित्र दिमाग खराबको झम्के झमाझम गीतबाट गायक सुमिन खड्का र गायिका नम्रता खरेल सर्वोत्कृष्ट चलचित्र गायक गायिका बन्न सफल भए । गायक सबिन सुवेदीलाई चलचत्रि छक्कापञ्जा ५ को विहे भाको छैन गीतबाट इकरेजमेन्ट अवार्ड गायकको अवार्ड प्रदान गरियो ।