‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक भण्डारीलाई प्रधानमन्त्रीको सचिवालयले बोलाएर के भन्यो ?

काठमाडौं । सरकारले पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी गरेपछि सरकारको आलोचना भइरहेका बेला अर्को टेलिभिजन शोको पनि कुरा आएको छ ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’ले सरकारको आलोचना गरेको भन्दै प्रधानमन्त्रीको कार्यालयले चासो व्यक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक तथा होस्टलाई बोलाएर यस्तो चासो व्यक्त गरेको हो ।
प्रधानमन्त्रीको सचिवालयले बोलाएपछि बुधबार अपराह्न ३ बजे ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक तथा होस्ट विशाल भण्डारी प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेका थिए ।
उनलाई प्रधानमन्त्रीका स्वकीय सहसचिव अरुण लम्सालले बोलाएका थिए । उनलाई सरकारले कलाकारहरूको सम्मेलन गर्दैछ कसरी गर्न सकिन्छ छलफल गर्नुपर्यो भनेर बोलाइएको थियो । तर, त्यस विषयमा भन्दा पनि ‘कमेडी नाइट विथ च्याम्पियन्स’को पोलिटिकल जोक्स र सटायरमा बढी कुरा भएको स्रोतले बताएको छ ।
पोलिटिकल जोक्स धेरै भयो, प्रधानमन्त्रीलाई सटायर बढी भएन र भन्नेबारे सचिवालयले घुमाउरो शैलीमा भनेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’ स्रोतले बताएको छ ।
रास्वपा सांसहरू सुमना श्रेष्ठ, असिम शाह, निशा डाँगी र डा. तोसिमा कार्कीलाई बोलाएर ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा पोलिटिकल जोक्स अलि बढी गरिएको थियो । अर्का सांसद हरि ढकालको शारीरिक नक्कलसहित पफर्मेन्स गरिएको थियो ।
उक्त भागमा एमालेसहित कांग्रेस, केपी ओली र बाबुराम भट्टराईविरुद्ध अलि धेरै रोष्ट र सटायर गरहेको थियो । रास्वपाका नेता तथा सांसदहरुलाई पनि तुलनात्मक रूपमा कम सटायर गरेको देखिएको थियो ।
उक्त एपिसोड प्रशारण हुनबित्तिकै उक्त शोका निर्देशकलाई बोलाएर त्यसबारे सोधखोज गर्नुले सिधै किन प्रधानमन्त्रीलाई व्यङ्ग्य गरेको, अबदेखि यस्तो नगर्नु नभने पनि उद्देश्य रहेको महसुस गराउने प्रयास प्रधानमन्त्रीको सचिवालयले गराएको भण्डारी स्रोतले बताएको छ ।
कलाकारहरूको सम्मेलनबारे खासै केही नभन्नु र केही कलाकारलाई बोलाएर लञ्चसँगै गर्ने थिति यसअघि देखिकै रहेकाले त्यो बाहाना मात्रै बनाएको पाइएको छ ।
भण्डारीलाई भने सचिवालयले प्रधानमन्त्रीसँग भेटाएन । अर्को पटक भेटाउने भन्दै टारेको स्रोत बताउँछ ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’ले साप्ताहिक रूपमा प्रशारण हुँदै आएको छ । जसमा सामाजिक तथा राजनीतिक व्यंग्य हुँदै आएको छ ।
यो शोमा भरतमणि पौडेल, सुमन कोइराला, सुमन कार्की, कैलाश कार्की, पवन भट्टराई, प्रभात लामालगायत कमेडियनले प्रस्तुति दिँदै आएका छन् ।