शाहरुख खानभन्दा चम्किए अल्लु अर्जुन

काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले रिलिज भएदेखि नै बक्स अफिसमा तहल्का मच्चाएको छ ।
‘पुष्पा २’ ले कमाएको रकमले पुष्पा अब फिल्म मात्र नभई ठुलो ब्रान्ड बनेको स्पष्ट भइसकेको छ । विशेष गरी यसको हिन्दी डब संस्करणले दर्शकमाझ विशेष क्रेज बनाएको छ, जसले ‘पुष्पा’लाई उचाइ मात्रै होइन एक शक्तिशाली ब्रान्डको रुपमा स्थापित गरिदिएको छ ।
फिल्मले सिनेमा हलमा मात्र नभई टेलिभिजनमा पनि उतिकै प्रभाव जमाएको छ । टेलिभिजन प्रिमियरसँगै फिल्मले नयाँ कीर्तिमान बनाएको छ यसले शाहरुख खानको ‘पठान’ र यश अभिनीत ‘केजीएफ २’ जस्ता ब्लकबस्टर फिल्महरूलाई टीआरपीको मामिलामा पछि पारेको छ ।
बक्स अफिसमा ‘पुष्पा २’ ले ऐतिहासिक कमाइ गर्दै विश्वभरबाट १८६० करोड भारु, र भारतमै १२३३.८३ करोड भारुको कलेक्सन गरिसकेको छ । हिन्दी संस्करणले मात्र ८१२.०९ करोड भारु कमाउँदै अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको कीर्तिमान राखेको छ ।
निर्माताले टेलिभिजन प्रिमियरबाट ठूला अपेक्षा राखेका थिएनन् तर दर्शकको प्रेम र समर्थनले फिल्मलाई नयाँ उचाइमा पुर्याएको छ । हलमा सुपरहिट बनेको ‘पुष्पा २’ टेलिभिजन प्रिमियरपछि पनि दर्शकको मन जित्न सफल रह्यो ।
कोभिडपछिको समयमा यो फिल्म भारतमा तेस्रो उच्च टीआरपी प्राप्त गर्ने फिल्म बनेको छ, जसले पुनः एकपटक प्रमाणित गर्यो कि ‘पुष्पा २’ केवल फिल्म मात्र नभई एक सांस्कृतिक घटनाको रूपमा स्थापित भइसकेको छ ।