आज अर्कालाई खनेको खाल्डोमा भोलि आफैँ परौला

काठमाडौं । केही दिन अगाडि एक निर्माताले फेसबुमा निर्देशकलाई इंगित गर्दै उनको चलचित्र नचलेकोमा करिब करिब खुसी व्यक्त गरे । उनले कलाकारको भीड जम्मा गर्दैमा सिनेमा नचल्ने बताए ।

उनले यसो भन्नुको कारण ती निर्देशकले उनलाई कुनै समय दुःख दिएका थिए । कसले लेख्यो ? त्यो निर्माताकै वालमा छ, सबैलाई थाहा भयो । निर्देशक पनि को हुन्, धेरैजसोलाई थाहा छ ।

निर्माताको स्टाटसमा हास्य कलाकार दीपकराज गिरीले चिन्ता व्यक्त गरेका छन् । उनले एकादेशमा नेपालमा सिनेमा उद्योग थियो रे । बर्सेनि थुप्रै सिनेमा बन्थे र चल्थे रे भन्ने दिन नआओस् भन्दै नेपाली चलचित्र उद्योगमा एउटाको सिनेमा डुब्दा अर्को रमाउने र खुसी हुने चलन रहेका बताएका छन् । धेरैले व्यवहारमा देखाउने गरे पनि अहिले फेसबुकमै लेखको र आफू पनि यो प्रवृत्तिबाट पीडित भएको बताएका छन् ।

नेपाली चलचित्रमा खुट्टा तान्ने प्रवृत्ति रोगकै रुपमा विकास भएको सबैसामु छर्लंगै छ । एउटाको सिनेमा कसरी सक्काउने, कसरी फ्ल्प बनाउने भनेर हात धुएर पछि लाग्ने चलन नै बसेको छ ।

एकै पटक सुटिङको समय जुधाउने, एकै दिन पोस्टर, टिजर र ट्रेलर सार्वजनिक गर्ने, एकै दिन रिलिज गर्नेसम्मका कूकृत्य सिनेमा उद्योगमा नयाँ होइन । यो त देखिने कुरा भयो । भित्रभित्रै हुने राजनीतिक खेलबाट धेरै निर्माता तथा निर्देशक अभ्यस्त भइसकेका छन् ।

जो सिनेमा उद्योगभित्रको राजनीति बुझ्दैन र गर्न सक्दैन ऊ सिधै असफल हुन्छ । सिनेमा रिलिज गर्नै धौधौ हुन्छ ।

यो खेलबाट चलचित्रकर्मी अझ धेरै त निर्माता र निर्देशक वाक्कदिक्क भइसकेका छन् । तर, पनि यस्ता हर्कत गर्न भने छोड्दैनन् ।

नेपाली चलचित्र उद्योग र निर्मातालाई जोगाउने हो भने यस्ता खराब क्रियाकलाप तत्काल बन्द गर्नुको विकल्प छैन । हार्दिकता र सद्भाव आवश्यक छ । सहकार्य र साथ आवश्यक छ । सहयोग र अनुभव आदानप्रदान आवश्यक छ ।

आज अर्कालाई छिर्के हान्नेलाई भोलि अर्कोले हान्छ । आज अर्कोलाई लडाउनेलाई भोलि अर्कोले उसैलाई लडाउँछ । आज अरुलाई खनेको खाल्डोमा भोलि पर्ने र पुरिने आफैँ हो । त्यसैले आजैदेखि यो गलत संस्कार त्योगेर मन माझामाझ गरेर पर्दापछाडिको यो गलत कूकार्य आजै बन्द गरौँ । होइन भने भोलि सबैले भोग्ने उही धोकाधडी र बेइमानी हो । यसको जगमा हुने असफल नै हो ।