३६ दिनमा सकियो ‘जारी २’को छायांकन, विशेष भूमिकामा ऋचा शर्मा

काठमाडौं । उपेन्द्र सुब्बाको निर्देशन रहेको सिनेमा ‘जारी २’को छायांकन सकिएको छ । सोमबार ३६ दिनमा छायांकन सकिएको हो ।
चलचित्रको सम्पूर्ण दृश्य खिचिए पनि केही मोन्टाज भने खिच्न बाँकी रहेको बुझिएको छ । वैशाख २९ गते शुभमुहूर्त गरिएको सिनेमाको पाँचथरमा छायांकन गरिएको थियो ।
‘जारी २’को सम्पूर्ण छायांकन पाँचथरका विभिन्न पर्यटकीय गन्तव्यमा भएको हो ।
‘जारी २’ सनेमा ‘जारी’को सिक्वेल हो । यो सिनेमाको फस्टलुक यसअघि नै सार्वजनिक भइसकेको छ । सिनेमा दशैँमा प्रदर्शन घोषणा गर्दै ‘जारी २’को फस्टलुक सार्वजनिक गरिएको थियो ।
फस्टलुकमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको थियो । यो सिनेमालाई स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ ।
‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमा ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखेका छन् ।
कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको ‘जारी’ले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
‘जारी २’मा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको छ । यस्तै सिनेमामा बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुलगायतको पनि अभिनय छ ।
यो चलचित्रमा ऋचा शर्मा पनि विशेष भूमिकामा छिन् । यसअघि उनको नाम निर्माणपक्षले सार्वजनिक गरेको थिएन ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमालाई रामबाबु गुरुङले निर्माण गरेका हुन् ।