‘झिंगे दाउ २’ को तयारी सुरु, केकी र आँचल फाइनल

काठमाडौं । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले आफ्नो सफल सिनेमा ‘झिंगे दाउ’ को सिक्वेल ‘झिंगे दाउ २’ को तयारी औपचारिक रूपमा सुरु गरेका छन्।

चलचित्रका लागि निर्देशक देउजाले आज अभिनेत्री केकी अधिकारी र आँचल शर्मासँग कागजी सम्झौता गरेका छन् । ‘झिंगे दाउ’ मा पनि यी दुई अभिनेत्री मुख्य भूमिकामा थिए, र उक्त सिनेमाले बक्स अफिसमा राम्रो सफलता हासिल गरेको थियो ।

हाललाई दुई मुख्य अभिनेत्रीहरू फाइनल गरिए पनि अन्य कलाकारहरूको छनोट प्रक्रिया जारी रहेको देउजाले जानकारी दिएका छन् । उनका अनुसार सिक्वेलमा अघिल्लो श्रृंखलाका केही कलाकारहरू दोहोरिनेछन् भने दुई नयाँ कलाकार पनि समावेश हुनेछन् । ती नयाँ कलाकार भने चर्चित अनुहार हुने बुझिएको छ ।

चलचित्रको कथा ‘झिंगे दाउ’ को निरन्तरता हुने भएकाले पनि केही पुराना पात्रहरू यथावत् रहनेछन् । यद्यपि अन्य कलाकारहरूको नाम हाल खुलाइएको छैन ।

‘झिंगे दाउ’ मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, संगम भण्डारी, हिउँवाला गौतम र अंशु महर्जन लगायतको अभिनय थियो ।

निर्देशक देउजाले ‘झिंगे दाउ २’ मा दर्शकलाई अघिल्लो सिरिजको जस्तै फरक स्वाद दिने प्रयास हुने बताएका छन् । अहिलेको तयारीलाई हेर्दा फिल्मप्रति दर्शकको अपेक्षा उच्च हुने अनुमान गर्न सकिन्छ । यो चलचित्रको छायांकन दशैँपछि हुने निर्देशक देउजाले आर्टखबरलाई जानकारी दिए ।

चलचित्रको संगीत अर्जुन पोखरेलले गर्नेछन् ।