साहित्यकार न्यौपाने र ओझाको नजरमा ‘महाभोज’ : सामयिक कथामा सशक्त चलचित्र

काठमाडौं । साहित्यकार तथा मदन पुरस्कार विजेता अमर न्यौपाने र विवेक ओझाले चलचित्र ‘महाभोज’ विषयवस्तु, कथावस्तुको प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।
न्यौपानेले ‘महाभोज’ लाई ‘यो समयको कथा बोकेको चलचित्र’को संज्ञा दिएका छन् । उनले हाल समाजमा व्याप्त सहकारी ठगीको मुद्दालाई चलचित्रले सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गरेका छन् । न्यौपानेका अनुसार, ‘यति बेला धेरै सहकारी बेकारी बनेका छन् । त्यहाँ धेरैको पसिनाको मूल्य हराएको छ । पीडितहरू किसान, मजदुर र श्रमजीवी वर्ग छन् भने पीडकहरू हुनेखानेहरू छन् ।’
उनले चलचित्रमा ग्रामीण भेगका विभिन्न मानिसका कथा(व्यथालाई सहकारी घोटालासँग जोडेर प्रस्तुत गरिएको र कथा सलल बगेको बताएका छन् । न्यौपानेले चलचित्रको अभिनय र निर्देशकीय पक्ष निकै सबल रहेको टिप्पणी गर्दै चलचित्र हेरेपछि देशमा कानुनको कमजोरी र बल प्रयोग गरेरै न्याय खोज्नुपर्ने परिस्थितिको चित्रणप्रति दुःख व्यक्त गरेका छन् ।
उनको भनाइमा, ‘यो चलचित्रको कमजोरी होइन, नियम(कानुनको कमजोरी हो । न्याय कानुनले दिन सक्नुपर्थ्यो तर चलचित्रले दिनुपर्यो ।’ उनले चलचित्र धेरैलाई आफ्नै कथा लाग्ने खालको रहेको पनि जनाएका छन् ।
अर्का मदन पुरस्कार विजेता साहित्यकार विवेक ओझाले ‘महाभोज’मा प्रत्येक कलाकारको अभिनय निकै बलियो लागेको बताएका छन् । विशेष गरी कलाकारहरूले आफ्ना पुराना चरित्रहरूभन्दा निकै उच्च स्तरको अभिनय गरेको महसुस गरेको उनले उल्लेख गरेका छन् ।
ओझाका अनुसार चलचित्रको कथा समसामयिक सहकारी घोटाला वरपर घुमे पनि यसले घरपरिवारको नाता सम्बन्ध, गाउँ समाजको विश्वास र धोकाका सम्बन्धलाई सँगसँगै हिँडाएको छ ।
उनले समाजको र कानुनको चरित्रबिचको द्वन्द्व, कानुनी छिद्र र विश्वासको दुरुपयोग, अनि कसरी मान्छे कानुनी र सामाजिक रूपमा सबथोक गुमाएर लाचार र विकल्पविहीन हुन पुग्छ भन्ने जस्ता विषयहरूलाई मिहिन तवरले प्रस्तुत गरिएकोमा प्रशंसा गरेका छन् ।
दिनेश राउतको निर्देशन, विकास सुवेदीको लेखन र हिमाल कडरियाको निर्माण रहेको ुमहाभोजुमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला, विनोद न्यौपाने लगायतको प्रमुख अभिनय रहेको छ ।