पलले भने– चलचित्रको कलाकारलाई कसैले चिन्दैन, मलाई चाइना वा इन्डिया बोर्डर जहाँ जाउँ सबैले चिन्छ

काठमाडौं । नायक पल शाहले सिनेमामा मात्रै काम गर्ने कलाकारलाई दर्शकले नचिन्ने बताएका छन् । म्युजिक भिडियोमा काम गर्ने कलाकारलाई भने सबैले चिन्ने उनको दाबी छ ।

“तपाईं अहिले बाटोमो हिँड्नुस्, सिनेमामा मात्रै काम गर्ने कलाकारलाई कसैले चिन्दैन । को आयो को गायो मतलबै हुन्नछ,” पल भन्छन्, “तर, म्युजिक भिडियोको आर्टिस्ट अथवा पल शाहलाई हेर्नुस्, चाइना बोर्डर जाउँ वा इन्डिया बोर्डर जाउँ, जहाँ सुकै जाउँ, देश विदेश जाउँ त्यहाँ माया दिनुहुन्छ, तपाईंको फिल्म हेरेको थिएँ भन्नुहुन्छ । फिल्म नहेरेकोको म्युजिक भिडियो हेरेको थिएँ भन्नुहुन्छ ।”

चलचित्रका धेरै कलाकारलाई कसैले नचिन्ने गरेको उनले दोहोर्‍याएरै भने ।

नेपालमा ३ प्रतिशत दर्शकले मात्रै सिनेमा हेर्ने गरेको र ९७ प्रतिशत दर्शकको पहुँचमा सिनेमा हल नरहेको उनको भनाइ छ ।

पलले म्युजिक भिडियोको अफर नआएकाले नै सिनेमाका अरु कलाकारले म्युजिक भिडियोमा काम नगरेको बताएका छन् ।

“मलाई म्युजिक भिडियोको अफर आएको छ, काम गरिरहेको छु । सायद अरुलाई पनि आएको भए काम गर्नुहुन्थ्यो होला,” पलले बिहीबार चलचित्र मोहरको गीत सार्वजनिक कार्यक्रममा भने ।

उनले एउटै म्युजिक भिडियोबाट ३/४ लाख रुपैयाँ पारिश्रमिक पनि लिने गरेको घुमाउरो शैलीमा बताए । म्युजिक भिडियोको बजेट नै १० लाख हुने गरेको उनको भनाइ छ ।