‘अञ्जिला’ले ६ वटा हलमा मनायो प्रदर्शनको सय दिन

काठमाडौं । नेपाली चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको सय दिन मनाएको छ । गत वर्षको फागुन २९ गते रिलिज भएको चलचित्र आजबाट प्रदर्शनको सय दिनमा प्रवेश गरेको हो ।

६ वटा हलमा यो चलचित्रले प्रदर्शनको सय दिन मनाएको हो । “आजबाट ‘अञ्जिला’ प्रदर्शनको गौरवमय सय दिनमा प्रवेश गरेको छ, दर्शकको मायाप्रति सदैव हार्दिक नमन” निर्देशक मिलन चाम्सले भनेका छन् ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार १०० रुपैयाँ दरमा चलचित्र देखाइएको छ ।

मिलन चाम्सले निर्देशन गरेको ‘अञ्जिला’ वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँचभित्र परिसकेको छ । हालसम्म यस चलचित्रले १२ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन् ।

यो चलचित्र राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । यसमा एन्जिला आफैँले प्रमुख अभिनय गरेकी छन् । दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ ।