पल शाहको आत्मविश्वास उचाइमा, तर बक्सअफिसमा उनकै सिनेमा चल्दैनन्

काठमाडौं । पछिल्लो समय अभिनेता पल शाह अभिनीत चलचित्रहरूले बक्स अफिसमा अपेक्षित सफलता पाउन सकेका छैनन् ।
गत वर्ष रिलिज भएको चलचित्र ‘रावायण’ले भनेजस्तो प्रभाव जमाउन सकेन । यसबाट त उनले निर्वाह गरेको चरित्र चित्रणलाई लिएर आलोचित बन्नु पर्यो भने त्यसपछि प्रदर्शनमा आएको चलचित्र ‘मायावी’ले उनलाई कुनै सफलता दिलाउन सकेन ।
गएकै वर्ष अर्को चलचित्र ‘कल्ली’ बाट उनलाई हटाइएको चर्चा पनि चर्चित बन्यो भने, यता ‘महाराजधिराज’ नामक अर्को सिनेमाबाट पनि उनी बाहिरिए, जसको कारण उनले आफूले निर्माणमा लागेकाले सम्झौता अनुसार अलग भएको बताएका छन् । उनले गर्ने भनेको चलचित्र ‘मायाका रंगहरू’ छायाकंनको अलमलमै रहेको छ । यसको छायाकंन कहिलेबाट हुन्छ पललाई नै अत्तोपत्तो छैन ।
अब भने पल साउन २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मोहर’ मार्फत दर्शकको भरोसा पुनः जित्ने प्रयासमा छन् । बिहीबार राजधानीको सिटी सेन्टरस्थित बिग मुभिज हलमा आयोजित आफ्नै चलचित्र ‘मोहर’ को गीत सार्वजनिक कार्यक्रममा उनी आत्मविश्वासले भरिएका देखिए ।
तर, गीत रिलिज कार्यक्रममा बोल्दै पलले ‘फिल्म मात्र खेल्ने कलाकारलाई बाटोमा हिँड्दा पनि कसैले नचिन्ने’ अभिव्यक्ति दिए ।उनको यो अभिव्यक्तिले बहस जन्माएको देखिन्छ ।
उक्त कार्यक्रममा पत्रकारले फिल्म र म्युजिक भिडियोको सन्दर्भ उठाउँदै प्रश्न गर्दा पलले आफूलाई ‘भयंकर स्टारडम’ भएको कलाकारको रूपमा चिनाए । उनले भने, “मलाई सबैले चिन्छन्, अरुलाई होइन ।” यस्तो अभिव्यक्तिपछि हलभित्र हासो उठ्यो, तर कतिपयलाई उनका कुरा केही असहज पनि लागे ।
उनले अघि थपे, “नेपाल–भारतको सीमा क्षेत्रमा समेत मलाई चिनेका छन् । अन्य कलाकारलाई त बाटोमा हिँड्दा पनि धेरैले चिन्दैनन्,” उनले भने, “नेपालमा जम्मा ३ प्रतिशत मात्र फिल्म हेर्ने दर्शक छन्, बाँकी ९७ प्रतिशतले त गफ मात्रै गर्छन् । म भने म्युजिक भिडियोमार्फत ती सबैको घरघरमा पुग्न सफल भएको छु ।”
तर, पलको यो अभिव्यक्ति कतिपयलाई घमण्डका रूपमा पनि महसुस भयो । उनको भनाइ अनुसार हलमा गएर फिल्म हेर्ने दर्शकले कलाकारको नामभन्दा कथा हेर्ने गर्छन्, तर म्युजिक भिडियोले कलाकारलाई चिनाउने माध्यम बन्ने गरेको छ । उनले दाबी गरे “जता जान्छु, ‘पलजीको भिडियो हेरेको थिएँ’ भन्ने सुन्छु,” ।
पलले आफू मेलामहोत्सवमा सहभागिता जनाउन रुचाउने बताए । “म दर्शकसँग सिधा सम्पर्कमा रहन चाहन्छु । हलभित्र बसेर कार्यक्रम गर्नु मलाई खासै मन पर्दैन,” उनले भने ।
पलले म्युजिक भिडियोमा अभिनय गर्न निरन्तर अफर आइरहेको बताउँदै हाल एक भिडियो सुट गर्न १० लाख रुपैयाँसम्म खर्च हुने दाबी गरे । “म २०–२५ वटा भिडियोमा काम गर्छु । सबैले मन पराउनु भएको छ । तपाईंलाई पनि ४–५ लाख अफर आयो भने खेल्नुहुन्छ नि!” उनले भने ।
तर, यथार्थतर्फ फर्किँदा पलका पछिल्ला चलचित्रले लगातार सफलता पाउन सकेका छैनन् । यदि ‘मोहर’ ले व्यापारिक सफलता हासिल गर्न सकेन भने उनका लागि चुनौती अझ जटिल बन्न सक्छ । केवल दर्शकले होइन, निर्माता–निर्देशकले समेत उनलाई नजरअन्दाज गर्न सक्छन् ।