‘माग्ने राजा’का राजा सम्पत्तिवाल बाउको बिग्रिएको छोरो हो ?

काठमाडौं । केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’को फर्स्ट लुक्स पोस्टर सार्वजनिक भएको छ ।
काठमाडौंमा शुक्रबार एक कार्यक्रम आयोजना गर्दै निर्माणपपक्षले चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।
निर्माणपक्षले एकै दिन दुईवटा पोस्टर सार्वजनिक गरेका छ । एउटा पोस्टरमा केदार एक्लै फिचर्ड छन् । पहेँले ड्रेसअपमा रहेका उनको शरीरमा सुनैसुन छ । गलामा मोटो चेन र प्रत्येका औँलामा औँठी छन् । यसले उनी खानदानी परिवारको छोरो भएको संकेत गरेको छ ।
अर्कोमा केदारसँगै वर्षा शिवाकोटी र विल्सनविक्रम राई पनि छन् । चस्मा र चेक सर्ट र कोटमा रहेका केदारको पछिपछि लागेर हिँड्ने भूमिकामा वर्षा र विल्सन रहेकोजस्तो देखिन्छ । सम्पत्तिवाल बाउको बिग्रिएको छोरो जसले आफूलाई सम्पत्तिको आडमा राजा भन्छ र दुईचारजनालाई पछि लगाएर हिँड्छ भन्ने संकेत यी दुई पोस्टरले संकेत गरेको अनुमान लगाउन सकिन्छ ।
केदार हिरो रहेको यो चलचित्र ‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुनेछ । यो चलचित्रमा केदार, वर्षा र विल्सनसँगै आर्यन सिग्देल, मिस पवि र शिशिर बाङदेलको मुख्य भूमिका छ ।
ऋषि लामिछानेको निर्देशन रहेको ‘माग्ने राजा’को पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका छन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् ।
चलचित्रमा मुनाल घिमिरेको लगानी छ । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दै छ ।