पशुपति शर्माको ‘झोले त तैं, झोले त मैं’ गीतले केपी ओलीलाई व्यङ्ग्य गरेपछि…

काठमाडौं । गायक पशुपति शर्माको नयाँ गीत ‘झोले त तैं, झोले त मैं’ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो गीतमा पशुपतिको एकल स्वर छ भने यसको शब्द र संगीत पनि उनकै हो । आखिर किन यसरी भाइरल हुँदैछ त उनको यो गीत ?
तपाईं, टिकटक वा फेसबुक रिल्स हेर्ने गर्नुभएको छ भने रिलिज भएको छोटो समयमै यो गीतमाथि थुप्रै भिडियो बनिसकेका छन् ।
युट्युबमा पनि गीतले चर्चा बटुल्दै छ । यो गीत हाल युट्युबको ट्रेन्डिङमा छ । यो समाचार तयार पर्दासम्म सार्वजनिक गीत युट्युबको म्यूजिक सेक्सनको ट्रेन्डिङ नम्बर दुईमा रहेको छ ।
सार्वजनिक भएको दुई दिनमै यस गीतले दिनमा ७ लाख ६२ हजार ९ सय हाराहारी भ्यूज पाइसकेको छ ।
यो गीत यसरी भाइरल बन्दै जानुको कारण हो, राजनीतिक दलप्रति आक्रोश र जनतामा रहेको निराशा ।
पशुपतिले यो गीतमा राजनीतिक दल, नेता, कार्यकर्तादेखि आम सर्वसाधारणलाई समेत व्यङ्ग्य गरेका छन् । नेताको गुणगान गाउनेदेखि भ्रष्टलाई नेता मान्नेसम्मलाई व्यङ्ग्य गरेका छन् ।
आफूले जे गर्दा पनि सही र अरूले गरेको नराम्रो भन्ने गलत प्रवृत्तिलाई पनि व्यङ्ग्य गरेका छन् ।
यो गीतमा पशुपतिले छाडा गीत गाउने गायक/गायिकालाई समेत व्यङ्ग्य गर्न छाडेका छैनन् । खासगरी उनले यो गीतमार्फत जनतालाई बारम्बार धोका दिने मात्र होइन, बारम्बार विश्वास गर्नु हाम्रो पनि गल्ती रहेको सन्देश दिन खोजेका छन् ।
गीत चर्चामा रहनुको अर्का कारण यसको शीर्षक र बोल पनि हुनसक्छ । किनकि केही साताअघि नेकपा एमालेमा म झोले हो भन्ने अभियान नै चलेको थियो । सोही कारण पनि श्रोता दर्शकले यो गीतलाई समय सान्दर्भिक र बलियो व्यङ्ग्यको रूपमा लिँदै प्रशंसा गरिरहेका छन् ।
पशुपति स्वयंको अभिनय रहेको भिडियोमा उनीसँगै जेरी भण्डारी देखिएका छन् ।
जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको सम्पादन छ ।
https://www.facebook.com/reel/23995260516752158/?s=single_unit