मदन पुरस्कार विजेताको कथामा दिनेश राउतको नयाँ सिनेमा

काठमाडौं । जेठ ३० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘महाभोज’ले अपेक्षाकृत व्यापार गर्न नसकेको भए पनि यसका निर्देशक दिनेश राउत भने नयाँ सिनेमाको तयारीमा जुटेका छन् ।

राउतले यसपटक साहित्यिक क्षेत्रमा स्थापित नामलाई साथ ल्याएका छन् । २०७९ सालका मदन पुरस्कार विजेता विवेक ओझाको कथामा आधारित नयाँ सिनेमाको निर्देशन गर्न लागेका हुन् ।

ओझाले आफ्नो चर्चित उपन्यास ऐँठनबाट मदन पुरस्कार जितेका थिए । सिनेमा लेखनमा यो विवेक ओझाको पहिलो अनुभव हुनेछ ।

हाल यस चलचित्रको कथा ओझाले लेखिरहेको बुझिएको छ । जसमा गाउँले सेटअप हुने बुझिएको छ ।

चलचित्रको नाम हालसम्म सार्वजनिक गरिएको छैन । तर, यसको निर्माण भने ‘प्रकाश’ फेम निर्माता महेन्द्र अधिकारीले गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।