गायिका समीक्षामाथि अभद्र टिप्पणी : पोस्ट सार्वजनिक गरिएपछि आलोचकले मागे माफी, दिइन् चेतावनीसहित क्षमा

काठमाडौं । लोकप्रिय गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरेर गरिएको अभद्र टिप्पणी सार्वजनिक गरेपछि ती प्रयोगकर्ताले खुला माफी मागेका छन् ।

एक प्रयोगकर्ताले उनको विगतलाई लिएर अमर्यादित टिप्पणी गरेपछि समीक्षाले सो प्रयोगकर्ताको कमेन्ट र तस्बिरसहित स्क्रिनसट सार्वजनिक गरेकी थिइन् ।

समीक्षाले उक्त टिप्पणीसहित प्रयोगकर्ताको प्रोफाइल स्क्रिनसट सेयर गर्दै आपत्ति जनाएकी थिइन्, जुन पोस्ट केही घण्टामै भाइरल बन्यो ।

उक्त टिप्पणी समीक्षा अधिकारीको व्यक्तिगत जीवन र विगतलाई लक्षित गरेर गरिएको थियो । त्यसपछि उनले ती प्रयोगकर्ताको कमेन्ट र परिवारका तस्बिरसहितको पोस्ट सार्वजनिक गरेकी थिइन्, जसले व्यापक चासो पाएको थियो । पछि समीक्षाले पनि माफी स्वीकृति जनाउँदै उक्त स्क्रिनसट हटाएकी छन् ।

समीक्षाको कडा प्रतिकृयापछि ती प्रयोगकर्ताले तुरुन्तै माफी माग्दै लेखे, “समीक्षा बहिनी, जे लेखियो त्यसका लागि हृदयदेखि माफी माग्छु । यसलाई अब लामो बनाउँदिनँ, फेरि भेट हुँदा हात जोडेर माफी माग्नेछु ।”

माफीपछि समीक्षाले आफ्नो पुरानो पोस्ट हटाउँदै लेखेकी छन्, “माफीको दायरालाई मैले नाघ्न सकिनँ । उहाँलाई माफी दिन्छु । तर अरूलाई चिनाउनु अघि आफूलाई चिन्नु आवश्यक छ । संघर्षको मैदानमा लड्दै उठेकी छु । अरूलाई लडाउन खोज्दा आफू पनि लडिन सक्छ भन्ने ख्याल सबैले राख्नुपर्छ ।”

यस घटनापछि सामाजिक सञ्जालमा समीक्षाको समर्थनमा धेरै प्रतिक्रियाहरू आएका छन् । धेरैले उनको हिम्मतको प्रशंसा गर्दै सामाजिक सञ्जालमा हुने दुर्व्यवहारविरुद्ध यसरी नै बोल्नुपर्नेमा जोड दिएका छन् ।

समीक्षाको दृढताले साइबर आचरणप्रति पनि एक सकारात्मक सन्देश दिएको उनका समर्थकको भनाइ छ । साथै, धेरै प्रयोगकर्ताले समीक्षाको हिम्मतको प्रशंसा गर्दै उनलाई नडराई आफ्ना बाटोमा अघि बढ्न हौसला दिएका छन् ।

यो घटनाले सामाजिक सञ्जालमा व्याप्त दुर्व्यवहारप्रति कलाकारहरूले कसरी सजग हुन थालेका छन् भन्ने संकेत गरेको छ ।