खगेन्द्र र वर्षाको ‘हर्ष’को प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘हर्ष’ को टाइटल भिडियो सार्वजनिकगर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।
एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्रको निर्माणपक्षले सोमबार सार्वजनिक गरिएको भिडियोमार्फत प्रदर्शन मिति मंसिर १२ गते तय गरिएको जानकारी दिइएको हो ।
डेब्यु निर्देशक पौडेलले चलचित्रलाई आफ्ना मामा, स्वर्गीय निर्देशक शिव रेग्मीलाई समर्पण गरेकी छन् । भिडियोको सुरुवातमै उनको नाम समर्पित गरिएको छ । पौडेल, रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीबाट सिनेमा मेकिङ अध्ययन गरेकी उनले आमसञ्चारमा स्नातक तथा व्यवस्थापन र नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन् ।
यसअघि केही छोटा फिल्म निर्देशन गरिसकेकी उनले आफु र आफ्नो टिमले ‘हर्ष’ दर्शकलाई उत्कृष्ट सिनेमा दिने प्रयास रहेको बताएकी छन् ।
‘हर्ष’ पारिवारिक र सामाजिक कथावस्तुमा आधारित रहेको बताइएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापितको अभिनय छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन् ।
सिनेमामा आलोक शुक्लाको छयांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।
चलचित्रका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् ।
सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन् ।
यो सिनेमाको छायांकन चितवनमा सम्पन्न गरिएको हो । हाल पोस्ट प्रोडक्सनको काम भइरहेको निर्माण पक्षले जनाएको छ ।
यस चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने जिम्मा लिएको छ ।