अब खोजिन्छिन् विष्णु माझी…

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजार फेरि एकपटक उत्साह र चटारोले भरिनेक्रममा छ । रेडियो, टेलिभिजनदेखि सामाजिक सञ्जालसम्म तीजको चर्चा सुरु भइसकेको छ । कलाकारहरू गीत लेखन, रेकर्डिङ र भिडियो छायांकनमा व्यस्त छन् । र, यसबीचमा एउटा नाम सबैभन्दा धेरै दोहोरिन्छ– विष्णु माझी ।

विष्णु माझी नेपाली लोकसङ्गीतको सुन्दर स्वरकी एक नक्षेत्र हुन् । उनी हरेक वर्षको तीजमा आफ्नै विशिष्ट शैलीमा गीत लिएर आउँछिन् । उनका गीतले केवल महिलाहरूको भावना मात्रै बोल्दैनन्, समाजको यथार्थ चित्रण पनि गर्छन् ।

कतिपय श्रोताले त भन्ने गरेका छन्, “विष्णु माझीको गीत नआएसम्म त तीज सुरु भएको जस्तो नै लाग्दैन ।” साँच्चै, तीजको सन्दर्भमा सर्वाधिक प्रतीक्षित बन्ने नाम नै हो – विष्णु माझी ।

गत वर्ष उनले गाएको ‘आइन आमा यो तीजमा’ गीतले निकै चर्चा पाएको थियो । त्यसअघि ‘चरी जेलैमा’ ले पनि करोडौं भ्युज पाएको थियो । पछिल्लो समयका उनका गीतले माइती र चेलीको खासगरी मार्मीक कथा भन्दै आइरहेका छन् ।

त्यसअघि पनि उनले तीज विशेष गीतहरूमा समाजका विविध पाटाहरू उजागर गर्दै आइरहेकी छन् । चाहे त्यो चेलीबेटीको अवस्था होस् वा वैवाहिक सम्बन्धभित्रको अनुभूति, उनका गीतमा समेटिन्छन् ।

यसवर्ष अब तीज आउन अझै दुई महिना बाँकी छ, तर अहिलेबाटै विष्णु माझीको गीतको चर्चा सुरु भइसकेको छ । धेरैजना अनुमान गरिरहेका छन् कि उनी फेरि नयाँ गीत लिएर आउनेछिन् । र, त्यो गीत फेरि पनि चर्चामा आउँछ ।

सांगीतिक बजारमा केही चर्चा यस्ता पनि छन् कि विष्णु माझीले यो पटक खास किसिमको तीज गीत ल्याउँदैछिन्, जुन परम्परागत तीज गीतभन्दा केही फरक र सन्देशमूलक हुनेछ । यद्यपि, उनले औपचारिक घोषणा गरकी छैनन् ।

तर, एउटा कुरामा भने दुविधा छैन– जब विष्णु माझीको स्वरमा तीज गीत आउँछ, त्यो केवल गीत हुँदैन, त्यो एक भावना हुन्छ । त्यसले महिलाको बेदना बोल्छ ।

त्यसैले होला, वर्षैपिच्छे तीज गीत गाउने कलाकारको संख्या बढे पनि, विष्णु माझीको गीतको प्रतिक्षा भने रहन्छ नै । यसपालि पनि श्रोताहरूको आशा, उत्सुकता र प्रतिक्षा उही पुरानै छ, विष्णु माझीको स्वरमा आउने नयाँ तीज गीतका लागि ।

तर, यो पनि सत्य हो पछिल्ला दुई वर्ष उनका गीत अपेक्षित भएनन् । त्यसअघिका गीत जति लोकप्रिय हुन्थे, त्यति भएनन् । त्यसैले यो पटक भने उनलाई थप चुनौती छ, राम्रो गीत ल्याउने ।