प्रदीप र पलको चर्चाबीच ‘ए मेरो हजुर ५’मा अनमोलको प्रवेश

काठमाडौं । नायक अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ५’ साइन गरेका छन् ।

सुहाना थापा इन्टरटेन्मेन्टले बनाउन लागेको चलचित्रको मुख्य भूमिकामा अनमोलको प्रवेश भएको हो । अनमोलले आज कागजी सम्झौता गरेका हुन् ।

चलचित्रमा अनमोलको जोडीको रूपमा सुहाना थापाले काम गर्नेछिन् । चलचित्रको छायांकन अनमोलको होम प्रोडक्सन ‘बाटुलो जुन’को छायांकन सकिएपछि सुरु हुनेछ । ‘बाटुलो जुन’को छायांकन भदौमा हुनेछ ।

यसअघि ‘ए मेरो हजुर ५’मा प्रदीप खड्का र पल शाहको पनि चर्चा थियो । तर, अन्ततः अनमोलसँगै सुहनाको जोडी बाँधिने भएको हो ।

यसअघि ‘ए मेरो हजुर ४’मा पनि सुहाना र अनमोलले स्क्रिन सेयर गरेका थिए ।

अनमोलले पनि आफूले ‘ए मेरो हजुर ५’मा काम गर्न लागेको बताएका छन् । उनले भनेका छ, “लामो समयको विश्रामपश्चात एउटा नयाँ अध्यायको सुरुवात गर्दैछु । म हजुरहरु माझ ‘जेरी अन टप’, ‘बाटुलो जुन’ र ‘ए मेरो हजुर ५’ मार्फत नेपाली चलचित्र उधोगमा नयाँ जोशका साथ हजुरहरुमाझ उपस्थित हुन लागेको यो खुशीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र हर्षित छु ।”

उनी अगाडि लेख्छन्, “आजसम्मको मेरो यस नेपाली चलचित्र उधोगमा साथ, सहयोग, सुभेच्छा र माया, हौसला र प्रेरणा प्रदान गर्नुृहुने मेरो निर्माता, निर्देशक, सहकर्मी मित्रहरु, टेक्निसियन, मिडिया तथा आदरणीय भगवानरुपी दर्शकहरुप्रति म कृतज्ञ छु ।

यो चलचित्रलाई झरना थापाले निर्देशन गर्नेछिन् । निर्माता सुनील कुमार थाहा हुनेछन् ।

यो चलचित्रमा गायक तथा संगीतकार खेम सेन्चुरीले संगीत संयोजन गर्नेछन्

झरनाले निर्देशन गरेको पछिल्लो चलचित्र ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) थियो । यो चलचित्र भने बक्सअफिसमा असफल भएको थियो । त्यसैले उनी पुरानै लोकप्रिय सिनेमाको सिरिजमा पर्किएकी छन् ।