पहिलो महिला चलचित्र लेखक को हो ?
काठमाडौं । थुप्रै रेकर्डहरू मध्ये एउटा रेकर्ड छ, चलचित्र मायालुका नाममा । यो चलचित्र वि.स. २०४५ मंसिर ५ गते प्रदर्शनमा आएको थियो ।
यो चलचित्र महिला लेखकले लेखेको सिनेमा हो । यसअघि कुनै पनि चलचित्रको कथा महिलाले लेखेका थिएनन् । मायालुको कथा नुतन प्रधानले लेखेकी थिइन् ।
मायालुबाट चलचित्र लेखन यात्रा सुरु गरेकी उनले त्यसपछि भने थुप्रै चलचित्रको कथा लेखिन् । फलस्वरुप उनले आफूलाई चलचित्र लेखकको रुपमा स्थापित गरिन् ।
शम्भु प्रधानले निर्देशन गरेको यो चलचित्रमा भुवन केसी, करिश्मा मानन्धर, हरिहर शर्मालगायत कलाकारहरूले अभिनय गरेका थिए ।
नुतनको मायालुपछि बेहुली, सम्पत्ति, सपना, स्वर्ग, सरस्वती, सक्कली नक्कली, सोह्र वर्षे जोवन, रंग वैजनीलगायत चलचित्रको कथा लेखिन् ।
नुतनले २०४५ बाटै आफूलाई फिल्म राइटरका रुपमा स्थापित गरेकी थिइन् । तर, त्यसयता भने फिल्म राइटर महिलाको संख्या अहिले पनि धेरै छैन । अधिकांश फिल्म पुरुषले नै लेखिरहेका छन् ।



