सुरुमा चलचित्रको नामाकरण त नयाँ गरौँ
चलचित्र सिर्जना हो, कलाको उच्चतम सिर्जना हो । साहित्य, संगीत, अभिनय, कष्ट्युम, कलरल, साउन्डलगायत थुप्र्रै विधाहरूको कलात्मक संयोजनसहितको सिर्जना नै चलचित्र हो । धेरै विधाहरूको कलात्मक संयोजन पछि मात्रै चलचित्र बन्ने भएकाले यसलाई कलाको उच्च कोटीमा रोखिन्छ ।
त्यसैले चलचित्रमा कलात्मकता हुनै पर्छ । नयाँ पन हुनै पर्छ । त्यसो त चलचित्र बनेपछि त्यो आफैँमा सिर्जना होइन र भन्ने तर्क पनि होला । यो तर्कलाई केही हदसम्म स्वीकार्न सकिएला पनि । तर, योे सतप्रतिशत सही तर्क हो भनेर यसलाई स्वीकार्नै पर्छ भन्ने छैन ।
तानतुन पारेर जबरजस्ती बनाइएका सिनेमा पनि थुप्रै छन् । चारवटा सिन एउटाबाट, चारवटा अर्कोबाट, चारवटा हिन्दीबाट, चारवटा अंग्रेजीबाट, अर्को आठ/आठवटा कोरियन, इरानी र इटालियन सिनेमाबाट लिएर पनि सिनेमा बनाइएका थुप्रै उदाहरण छन् । यस्ता चलचित्रलाई कलात्मक भन्ने कि नभन्ने यो व्यक्ति स्वयंले निर्धारण गर्ने विषय हो । यसलाई कति सिर्जनशील चलचित्र मान्ने त्यो पनि व्यक्ति स्वयंले निर्क्यौल गर्ने विषय हो ।
नेपाली चलचित्र उद्योगमा अरु विषय, विधा र पक्षलाई एकछिन थाँती राखेर नामको मात्रै कुरा गर्दा त्यसमा पनि सिर्जनशीलता भेटिन छोड्यो भन्दा फरक नपर्ला । १० वर्ष भन्दा पहिला बनिसकेका नाममा धमाधम चलचित्र बन्न थालेका छन् ।
यसका थुप्रै उदाहरण छन्, जस्तै : ‘आमा’, ‘मुगलान’, ‘हामी तीन भाइ’, ‘माइतीघर’लगायत थुप्रै चलचित्र छन्, जो पहिला बनेर अहिले पनि बनिसके । सिक्वेल र सिरिज त झन धेरै छन् ।
१० वर्ष अघि निर्माण भएर रिलिज भइसकेको सिनेमाको नाममा चलचित्र बनाउन पाइन्छ । कानुनले यसमा छुट दिएको छ । कपिराइटको कानुन लाग्दैन ।
तर, नाम समेत अरु चलचित्रकै सापट लिने लेखक र निर्देशकले कस्तो सिनेमा बनाउलान् भनेर अपेक्षा गर्नु ? नाम समेत कपी गर्नुपर्ने अवस्थाबाट आएका मेकरबाट कति अपेक्षा गर्ने यो प्रश्न गर्ने ठाउँ रहन्छ ।
नयाँ नाम समेत जुराउन नसक्ने मेकरले विषयमा कति मेहनत गर्छन् भनेर विश्वास गर्ने भन्ने प्रश्न चाहिँ उठ्ने रहेछ । नाम कपी गरे पनि राम्रो चलचित्र बनाउने मेकर पनि होलान्, केही त्यस्ता चलचित्र पनि आएका छन् । तर, नाममा सिर्जनशीलता त खोज्नुपर्छ ।
नाममा समेत मेहनत नगरेर अरुबाटै सापटी माग्नुपर्नेबाट के नयाँ अपेक्षा गर्नु भन्ने मनोविज्ञानले काम गर्न थालेको अवस्थामा जति सुकै राम्रा चलचित्र आए पनि ती छायामा पर्ने सम्भावना उच्च हुन्छ ।
अहिले पनि केही निर्देशकले थुप्रै पुराना सिनेमाको नाम चलचित्र विकास बोर्डमा दर्ता गरेर बसेका छन् । यसले नयाँ केही गरौँ भन्दा पनि टालटुल पारेर चलचित्र निर्माण गरिहालौँ र रिलिज गरिहालौँ भन्ने मानसिकतामा मै रुमलिएको देखिन्छ ।
चलचित्र निर्माण सिर्जनशील काम हो । करोडौं लगानी गरेर, ५०औँ जनाले कम्तीमा ६ महिना लगाएर गरेको मेहनतमा हतार नगरी काम गर्नुपर्छ । सकेसम्म धेरैले मन पराउने सिर्जना बाहिर ल्याउँछु भनेर नामाकरणदेखि नै सोच्नुपर्ने देखिन्छ ।
नाममा समेत नयाँ पन दिन सकिएन भने कसरी निर्देशकले त्यस्ता सर्जकलाई विश्वास गर्नु ? त्यसैले सुरुमा नाम मै सिर्जनशीलता खोज्ने प्रयास गरौँ ।



