‘प्रतिवैरम’को टिजर: बिहारमा मदिरा निषेध भएपछि उत्पन्न भएको परिस्थिति

काठमाडौं । चलचित्र ‘प्रतिवैरम’ को टिजर सार्वजनिक गरिएको छ ।

रोशन दासको निर्देशनमा तयार भएको यस चलचित्रको टिजरले विशेषगरी नेपाल र भारतको सीमा क्षेत्रमा हुने गतिविधि र मधेसको धरातलीय यथार्थलाई समेट्ने प्रयास गरेको छ । जसमा दाइजो प्रथादेखि अवैध धन्दासम्मको कथा देख्न सकिन्छ ।

टिजरको सुरुवातमा बिहारमा मदिरा निषेध भएपछि उत्पन्न भएको परिस्थिति र त्यसले निम्त्याएको तस्करीको जालोलाई देखाइएको छ । “जहाँ कानुन समाप्त हुन्छ, त्यहाँबाट बाँच्ने संघर्ष सुरु हुन्छ” भन्ने सन्देशका साथ चलचित्रले एक्सन र ड्रामाको सम्मिश्रण प्रस्तुत गरेको छ ।

टिजरमा मधेसको संस्कृति, रहनसहन र त्यहाँका मानिसहरूले भोग्नुपर्ने संघर्षका झलकहरू समावेश छन् ।

यस चलचित्रमार्फत सम्राट दासले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । टिजरमा उनको दमदार एक्सन अवतार देख्न सकिन्छ ।

चलचित्रमा सम्राटका अलावा सुप्रज्ञा शर्मा, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह, रामेश बुढाथोकी लगायत कलाकारहरूको अभिनय रहेको छ ।

रेज इन्टरटेनमेन्टले किङ वाईटीसँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा निर्देशक दास स्वयंको कथा छ भने पटकथा युवराज भट्टराईले लेखेका हुन् । कृष्ण बर्देवाको छायांकन रहेको चलचित्रलाई कविर वोडले सम्पादन गरेका छन् ।

यो चलचित्र नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चारवटा भाषाहरूमा प्रदर्शन हुने तयारीमा छ । चलचित्र आगामी २०८१ सालको जेठ (मे २०२४) मा सार्वजनिक प्रदर्शनमा आउनेछ ।