‘एक्लो’ को बक्स अफिसमा निराशाजनक सुरुवात, दोस्रो दिन झनै कमजोर
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको साइन्स फिक्सन चलचित्र ‘एक्लो १’ को बक्स अफिस ओपनिङ निकै फितलो देखिएको छ ।
नेपालकै पहिलो साइन्स फिक्सन सिनेमा भनिएको प्रदीप शाही निर्देशित यो चलचित्रले हलसम्म दर्शक तान्न संघर्ष गरिरहेको छ ।
चलचित्रको प्रदर्शनको दोस्रो दिन अर्थात् आज शुक्रबारको अवस्था झनै चिन्ताजनक छ । देशभरका हलहरूमा आजको बुकिङ एकदमै कमजोर देखिएको छ ।
राजधानीका ठूला मल्टिप्लेक्सदेखि मोफसलका हलहरूसम्मको मध्यान्न १२ बजे सम्मको बुकिङ ट्रेन्ड हेर्दा दर्शकको उपस्थिति ‘शून्यप्राय’ छ । मल्टिप्लेक्सदेखि एकल पर्दासम्मको ट्रेन्ड हेर्दा औँलामा गन्न सकिने दर्शकले मात्र टिकट काटेको पाइएको छ ।
देशव्यापी १२४ वटा शोबाट प्रदर्शन सुरुवात गरेको चलचित्र ‘एक्लो’ को पहिलो दिन विहीबार केही हलका केही शोजमा दर्शक राम्रै देखिएपनि अन्य हलहरुमा दर्शकको चाप देखिएको थिएन । ओपनिङ कमजोर भएसँगै आजबाट धेरै हलहरूले शो संख्यामा समेत भारी कटौती गरेका छन् ।
साइन्स फिक्सन विधामा नयाँ प्रयोग गरिएको दाबी गरिए पनि यो चलचित्रले समिक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाउन सकेको छैन । अधिकांश समिक्षकहरूले चलचित्रको पटकथा र मेकिङमा कमजोरी औँल्याउँदै निराशाजनक रिभ्यु दिएका छन् । नेपाली फिल्म क्षेत्रमा नयाँ विधा (साइन्स फिक्सन) भित्र्याउने आँट त गरियो, तर कमजोर तयारीका कारण ‘एक्लो १’ नेपाली फिल्म इतिहासको एउटा महँगो र असफल प्रयोग बन्ने जोखिम बढेको समिक्षकहरूको बुझाइ छ ।
एकातिर समिक्षकको नकारात्मक टिप्पणी र अर्कोतिर दर्शकको न्यून उपस्थिति हुनुले चलचित्रलाई ठूलो संकटमा पारेको छ । विशेषगरी अभिनेता प्रदीप खड्काका लागि यो चलचित्रको सफलता निकै महत्त्वपूर्ण थियो । ‘पूजार सार्की’ पछि उनका लगातार चलचित्रहरू व्यावसायिक रूपमा असफल हुँदै आएका छन् । यस चलचित्रमा उनी मुख्य भूमिकामा मात्र नभई निर्माताका रूपमा समेत जोडिएका छन् । आफ्नो गुम्दै गरेको ‘स्टारडम’ जोगाउन र व्यावसायिक छवि फर्काउन प्रदीपलाई यो चलचित्र चल्नैपर्ने दबाब थियो, तर प्रारम्भिक नतिजा उनको प्रतिकूल देखिएको छैन ।
अहिलेको अवस्थालाई हेर्दा, यदि फिल्मले आज बेलुकासम्ममा बलियो ‘वर्ड अफ माउथ’ (दर्शकको सकारात्मक प्रतिक्रिया) पाउन सकेन भने भोलि शनिबारदेखि हलहरूमा फिल्म टिकिरहन मुस्किल पर्ने देखिन्छ ।
निर्देशक शाहीले यो चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाइएको दाबी गरेका थिए । तर, विदेशी कलाकार र महँगो सेटले मात्र दर्शक तान्न सक्दैन भन्ने प्रमाण ‘एक्लो १’ को यो ओपनिङले दिएको छ ।
अब यो चलचित्रका लागि भोलि शनिबारको दिन ‘गर या मर’ को स्थितिमा छ । यदि शनिबार पनि दर्शकको संख्या बढेन भने फिल्म आइतबारबाट हलहरूबाट सीमित शो मा झर्ने निश्चित छ । के पहिलो साइन्स फिक्सन सिनेमाको ट्यागले मात्र ‘एक्लो १’ लाई जोगाउन सक्ला? यो भने हेर्न बाँकी नै छ ।
शाई प्रोडक्सन्स नेपालको ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रदीपसहित विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, सुरजसिंह ठकुरी र बेलायती अभिनेता जेमी बेकन जस्ता स्थापित कलाकारहरूको अभिनय रहेको छ ।
एनआरएन समूहको लगानी रहेको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।



