आलोचनापछि आशिफ शाहले फिर्ता लिए समानुपातिक सूचीबाट उम्मेदवारी

काठमाडौं । अभिनेता आशिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारी फिर्ता लिएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले जनता र पार्टीका साथीहरूको भावनालाई सम्मान गर्दै उक्त बन्दसूचीबाट पछि हट्ने घोषणा गरेका हुन् ।

अभिनेता तथा टेलिभिजन कार्यक्रम होस्ट शाह रास्वपाको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरकाे १ नम्बरमा थिए । उनी रास्वपा पूर्वसांसद असिम शाहका दाइ हुन् ।

सामाजिक दबाब र पार्टीभित्रको असन्तुष्टिका बीच समानुपातिक उम्मेदवारी फिर्ता लिएका अभिनेता शाहले सामाजिकमा आफू सक्रिय राजनीतिमा नरहे पनि देश बन्नुपर्छ भन्ने हुटहुटी सधैँ मनभित्र जीवित रहेको उल्लेख गरेका छन् ।

आम जनताको चाहनाअनुसार बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भन्ने प्रयासमा आफू संलग्न रहेको र त्यसैको मूल्याङ्कन गर्दै साथीहरूले समानुपातिक सूचीमा नाम समावेश गराएको उनको भनाइ छ ।

शाहले भने, “देश निर्माणका लागि जुनसुकै पदमा भए पनि योगदान दिन तयार छु, तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत् सांसद बन्ने बाटो म रोज्न सक्दिनँ ।”

उनका अनुसार सुरुमा नै आफूले प्रत्यक्ष निर्वाचनमार्फत जनतासँग उभिएर उम्मेदवारी दिन चाहेको स्पष्ट पारेका थिए । तर, देशव्यापी चुनावी अभियान आवश्यक रहेको भन्दै साथीहरूको सुझावअनुसार समानुपातिक प्रणालीमार्फत उम्मेदवारी दर्ता गरिएको थियो । यद्यपि, त्यसपछि आएका समाचार, जनताका प्रतिक्रिया र पार्टीभित्रका भावनाले आफूलाई गहिरो आत्ममन्थनमा पुर्‍याएको शाहले बताएका छन् ।

‘सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो,’ उनले भनेका छन्, ‘जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ ।’

उनले जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् ।

साथै शाहले अब प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट रहेको उल्लेख गर्दै काठमाडौं ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिन पूर्ण रूपमा तयार रहेको पनि घोषणा गरेका छन् ।