शाहरुख खानपछि अक्षय खन्नाले रचे नयाँ रेकर्ड, पछि परे प्रभास र अल्लु अर्जुन
काठमाडौं । भारतीय चलचित्र क्षेत्रमा ‘मिस्टर भर्सटाइल’ को पहिचान बनाएका बलिउड अभिनेता अक्षय खन्नाले सन् २०२५ मा बक्स अफिसका सबै पुराना रेकर्डहरू ध्वस्त पार्दै नयाँ इतिहास रचेका छन् । आफ्ना दुई ब्याक-टु-ब्याक सुपरहिट सिनेमामार्फत उनले यस्तो सफलता हात पारेका हुन्, जुन अहिलेसम्म बलिउडका ‘किङ’ शाहरुख खानको नाममा मात्र सीमित थियो ।
अक्षय खन्ना अब शाहरुख खानपछि एकै वर्षमा रिलिज भएका फिल्महरूबाट विश्वव्यापी रूपमा २ हजार करोड (भारतीय रुपैयाँँ) भन्दा बढीको व्यापार गर्ने दोस्रो भारतीय अभिनेता बनेका छन् । यसअघि सन् २०२३ मा शाहरुख खानले ‘पठान’, ‘जवान’ र ‘डन्की’ मार्फत कुल २,६८५ करोड कमाएर यो कीर्तिमान राखेका थिए ।
अक्षयले सन् २०२५ मा आफ्ना दुई फिल्म ‘छावा’ र ‘धुरंधर’ मार्फत यो असम्भव देखिने क्लबमा आफ्नो नाम सुरक्षित गरेका छन् ।
सन् २०२५ को सुरुवातमा रिलिज भएको ऐतिहासिक फिल्म ‘छावा’ मा अक्षयले मुगल सम्राट औरंगजेबको भूमिका निभाएका थिए । उनको अभिनयको सर्वत्र प्रशंसा भयो र फिल्मले विश्वभर ८०० करोड (भारतीय रुपैयाँँ) को व्यापार गर्यो ।
त्यस्तै, डिसेम्बर ५ मा प्रदर्शनमा आएको एक्सन-थ्रिलर ‘धुरंधर’ ले त बक्स अफिसमा सुनामी नै ल्याइदियो । पाकिस्तानी गुण्डा रहमान डकैत (कराँचीको कुख्यात ग्याङस्टर ‘सरदार अब्दुल रहमान बलोच’) को भूमिकामा देखिएका अक्षयलाई दर्शकले निकै रुचाए । यो फिल्मले हालसम्म १,१०० करोड (भारतीय रुपैयाँँ)को व्यापार गरिसकेको छ र अझै पनि हलहरूमा दर्शकको चाप कम भएको छैन ।
अक्षयको यो सफलताले दक्षिण भारतीय सिनेमाका दिग्गज स्टारहरू प्रभास र अल्लु अर्जुनलाई समेत उछिनेको छ । प्रभासको ‘बाहुबली २’ र अल्लु अर्जुनको ‘पुष्पा २’ जस्ता फिल्महरूले १,७०० करोड (भारतीय रुपैयाँँ)सम्मको व्यापार गरे तापनि, एकै वर्षमा कुल २,००० करोड (भारतीय रुपैयाँँ)को माइलस्टोन पार गर्ने मामलामा अक्षय अगाडि निस्किएका छन् ।
अक्षय खन्नाले बनाएको यो विशाल कमाइको रेकर्डलाई अब कसले तोड्ला भन्ने बलिउडमा चर्चा सुरु भएको छ । सिनेमा विश्लेषकहरूले यसको दाबेदारका रूपमा अभिनेता रणवीर कपूरलाई हेरेका छन् । उनका आगामी फिल्महरू ‘रामायण’ र ‘लभ एण्ड वार’ ले अक्षय र शाहरुखको यो विशाल कमाइलाई चुनौती दिने अपेक्षा गरिएको छ ।
लामो समयपछि पर्दामा फर्किएका अक्षय खन्नाको यो ‘कमब्याक’ ले बलिउडमा विषयवस्तु र अभिनयको शक्ति भएमा जुनसुकै रेकर्ड तोड्न सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ ।



