यमनले गाए ‘आ बाट आमा’का लागि नेवारी गीत

काठमाडौं । चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’ मा नेवारी गीत पनि समावेश गरिने भएको छ ।

आगामी माघ १६ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रको दुई साताअघि युट्युबमा सार्वजनिक भएको शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’लाई निर्माण पक्षले नेवारी भाषामा रेकर्ड गराएको हो ।

बाबुल गिरीको शब्द रचना रहेको यस गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले स्वर दिएका छन् । उनी चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन् ।

यमनले नेवारीमा गाउन पाउँदा एकदमै खुशी लागेको बताए । गीतको शब्दलाई नेवारी भाषामा अनुवाद गर्न बुबाले सघाएको बताउँदै उनले भने, ‘गीतको नेवारी शब्द पनि आफैंले मिलाउनुपर्ने भएपछि मैले बुबालाई अनुवाद गर्न आग्रह गरेको थिएँ । गीतलाई बुबाले नेवारी भाषामा बनाइदिनुभएको हो ।’

नेपाली भाषामा यो गीतलाई ‘नेपाल आइडल-२’का विजेता रवि ओडले गाएका छन् । गीतले सन्तानप्रति आमाको माया, समर्पण र लगावलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेको छ । निर्माण पक्षले यो गीतमा गायन र अभिनयसम्बन्धी प्रतियोगिताको समेत घोषणा गरेको छ । उक्त गीतमा कभर गाउने र अभिनय गर्नेले ५० हजार नगद पुरस्कार पाउने जनाइएको छ ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायतले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

यो चलचित्रमा कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ भने नवराज उप्रेतीले छायांकन गरेका छन् ।

अभिमन्यू निरवीले लेखेको चलचित्रको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् ।

चलचित्रमा लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन् । कार्यकारी निर्माता करण सिंह रसाली छन् ।