‘मिरमिरे’को पब्लिसिटीमा एआई भिडियोको सहयोग
काठमाडौं । रिलिज नजिकिँदै जाँदा चलचित्र ‘मिरमिरे’ले पब्लिसिटीलाई तिव्रता दिँदै आएको छ । गीत, पोस्टर, टिजर, ट्रेलरसँगै यो चलचित्रले प्रचारमा एआईको सहयोग लिँदै आएको छ ।
एआईमार्फत भिडियो बनाएर चलचित्रको प्रचारमा निर्माण टिम लागेको छ । चलचित्र किन हेर्ने, कस्तो कथा छ, कहिले रिलिज हुन्छलगायत इन्फरमेन्सन भिडियोमा देख्न र सुन्न सकिन्छ ।
माघे संक्रान्ति चलचित्र हेर्दै मनाउन अपिल गरेको भिडियो सिनेमाका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखुलगायत कलाकारले सामाजिक सञ्जालमा सेयर गर्दैै आएका छन् ।
“सहज, सरल र प्रभावकारी के हुन्छ भनेर हामी त्यसतर्फ केन्द्रित छौँ । एआईबाट भिडियो बनाएर सिनेमाबारे जानकारी दिने प्रयास गरिरहेका छौँ,” निर्देशक यम शेर्पा भन्छन्, “सकेसम्म धेरैभन्दा धेरै दर्शकमा कसरी पुग्ने र सहज के हुन्छ त्यसतर्फ पनि सोच्नुपर्ने अवस्था छ ।” उपलब्ध प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नुको विकल्प नरहेको उनी बताउँछन् ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।



