सौगातलाई ‘दाइ’ भन्नुको रहस्य के हो ? जिब्रो चिप्लिएको मात्र हो ?
काठमाडौं । अभिनेत्री सृष्टि श्रेष्ठले अभिनेता सौगात मल्ललाई ‘दाइ’ भनेको विषय सामाजिक सञ्जालमा व्यापक चर्चा र ट्रोल भएको छ ।
केही दिनअघि चलचित्र ‘भाइरल गोर्खे’ को ट्रेलर रिलिज कार्यक्रका क्रममा सृष्टिले अभिनेता सौगातलाई ‘सौगात दाइ’ भनेर सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पत्रकारहरूले यसबारे प्रश्न सोधेका थिए ।
यस विषयमा सृष्टिले हाँस्दै स्पष्टीकरण दिएकी छिन् । सौगातलाई ‘दाइ’ भन्नुको रहस्य: ‘जिब्रो चिप्लिएको मात्र हो’
सोमबार पत्रकार सम्मेलनमा जब सृष्टिलाई सौगातलाई ‘दाइ’ भनेको बारे प्रश्न गरियो, उनले यसलाई एक रमाइलो ‘टङ स्लिप’ (जिब्रो चिप्लिएको) का रूपमा व्याख्या गरिन् ।
सृष्टिले प्रष्टीकरण दिँदै भनिन्, “वास्तवमा त्यो अन्तर्वार्ता लिने व्यक्तिले ‘सौगात दाइ’ भनेर प्रश्न सोध्नुभएको थियो । कुराकानीकै क्रममा त्यही फ्लो (प्रवाह) मा मैले पनि ‘दाइ मात्र होइन सौगात दाइ त यस्तो यस्तो…’ भनेर जवाफ दिएछु । म उनलाई दाइ भनेर सम्बोधन त गर्दिनँ, तर त्यो बेला झुक्किएर मुखबाट निस्कियो।”
उनले हाँस्दै थपिन्, “मैले दाइ भनेकोमा म ‘सरी’ भन्न चाहन्छु। त्यो केवल जिब्रो चिप्लिएको मात्र हो, अरू केही होइन ।”
उनले आफ्नो छेवैमा बसेका सौगाततिर हेर्दै दाइ भनेकामा माफी समेत मागिन् ।
सौगातको प्रतिक्रिया: ‘मलाई थाहा थियो यो भाइरल हुन्छ’
सृष्टिले ‘दाइ’ भन्दा छेउमै बसेका सौगात मल्लले भने निकै शान्त र ठट्यौली पारामा प्रतिक्रिया दिए । उनले त्यो बेला आफूले कुनै ठूलो प्रतिक्रिया नजनाएको बताए ।
सौगातले भने, “मलाई थाहा थियो त्यो फ्लोमा आएको कुरा हो। तर मलाई यो पनि थाहा थियो कि अब यसले सामाजिक सञ्जालमा ठाउँ पाउनेछ र मानिसहरूले यसलाई लिएर चर्चा गर्नेछन् ।” उनले जिस्किँदै आफूलाई ‘बब दाइ’ को रूपमा पनि प्रस्तुत गरे, जसले हलमा हाँसो फैलाएको थियो ।
अभिनेता सौगात र अभिनेत्री सृष्टि लामो समयदेखि प्रेम सम्बन्धमा रहेका कारण सृष्टिले सौगातलाई ‘दाइ’ भन्दा दर्शक र फ्यानहरूका लागि त्यो एउटा अचम्मको र भाइरल विषय बनेको थियो ।
उनीहरु करिब ७ वर्ष लामो प्रेमसम्बन्धमा बसे । तर, तीन वर्षअघि उनीहरूले ब्रेकअप भएको खुलासा गरेका थिए ।
प्रेममा छँदा चारवटा फिल्म खेलेका सौगात र सृष्टिले ब्रेकअपपछि एकसाथ सहकार्य गर्दैनन् भन्ने धेरैको अनुमान थियो । तर, दुवैले फिल्म ‘भाइरल गोर्खे’ मा एकसाथ काम गरेका छन् ।
ब्रेकअपपछि एक-अर्कासँग बोलचाल समेत नरहेको उनीहरु यतिवेला यसै फिल्मको प्रचारमा एकसाथ हिडिरहेका छन् । सृष्टिले पत्रकार सम्मेलनमार्फत यो सबै कुरा अन्जानमा भएको र आफूहरूबीचको सम्बन्धमा कुनै परिवर्तन नआएको स्पष्ट पारेकी छिन् ।
यो रमाइलो प्रसङ्गसँगै उनीहरूले चलचित्र ‘भाइरल गोर्खे’ मा आफूहरूको जोडी र अनस्क्रिन केमेस्ट्रीलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन् । चलचित्रमा सौगात ‘गोर्खे’ र सृष्टि कीर्तिपुरको नेवारी लवज बोल्ने युवतीको भूमिकामा देखिँदैछन् ।



