किन हतार गरे यमले ‘मिरमिरे’ बनाउन ?

काठमाडौं । माघ १ गते रिलिज हुने चलचित्र ‘मिरमिरे’का निर्देशक यम शेर्पाले आफूले कथा भन्ने हतारो भएकै कारण ‘मिरमिरे’ बनाएको बताएका छन् ।

युनिभर्सल कथा भएकै कारण आफूले हतार गरेर ‘मिरमिरे’ बनाएको उनले बताएका छन् । बुवा र छोरीबीचको भावनात्मक कथा भएकाले जुनसुकै बेला जसले पनि बनाउन सक्ने र मिल्ने सम्भावना भएकाले तत्काल कथा भन्न हतार गरेको निर्देशक यम बताउँछन् ।

“म सँग एउटा स्टोरी थियो, जुन मलाई भन्न हतार भइरहेको थियो । मैले दया दाइलाई यो स्टोरी भनिहाल्नुपर्छ,” मंगलबार ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक यमले भने, “किन हतार गरेको भने, संसारभर यति धेरै चलचित्र बन्छन्, तत्काल बनाएन भने कुनै न कुनै सिनेमाले यो कथा भन्छन् भन्ने मलाई लाग्यो ।”

‘मिरमिरे’का कथा पनि निर्देशक यम आफैँले लेखेका हुन् । “मैले दया दाइलाई तत्काल बनाएन भने हाम्रो चलचित्रको कथासँग मिल्छ अरुको कथा पनि मिल्न सक्छ भनिरहेको थिएँ,” निर्देशक यमले भने, “हामीले अहिले बनाएनौँ भने अरुले फेरि हामीलाई कपी गरेको आरोप लाग्छ भनेँ । दया दाइलाई सुनाउँदा उहाँले हुन्छ, गरौँ भन्नुभयो ।”

बुवा र छोरीबीचको भावनात्मक सम्बन्ध र छोरीप्रतिको जिम्मेवारी युनिभर्सल कथा भएकाले जसले पनि यसमा सिनेमा बनाउन सक्छन् भन्ने यमलाई डर थियो ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।