बक्स अफिसमा ‘धुरन्धर’को राज, तोडियो ‘पुष्पा २’को रेकर्ड
काठमाडौं । बलिउड सुपरस्टार रणवीर सिंहको पछिल्लो चलचित्र ‘धुरन्धर’ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको एक महिना पुरा गर्दासम्म यो चलचित्रले व्यापारका सबै पुराना रेकर्डहरू ध्वस्त पार्दै बलिउडको बिरासत पुनः स्थापित गरेको छ ।
मंगलबारको बक्स अफिस सङ्कलनसँगै ‘धुरन्धर’ ले दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ को सर्वाधिक कमाइको कीर्तिमानलाई पछि पारेको छ । यससँगै यो चलचित्र भारतकै सबैभन्दा धेरै कमाउने हिन्दी सिनेमाको सूचीमा पहिलो नम्बरमा उक्लिएको छ ।
बक्स अफिस विश्लेषकहरूका अनुसार सोमबार ५ करोड ४० लाख भारतीय रुपैयाँ नेट कलेक्सन गरेको चलचित्रले मंगलबार पनि आफ्नो पकड बलियो राख्दै करिब ५ करोड रुपैयाँ थपेको छ । ३३ दिनको कुल यात्रामा चलचित्रको नेट कमाइ ८ सय ३१ करोड भारतीय रुपैयाँ पुगेको छ ।
यसअघि भारतीय बजारमा सबैभन्दा बढी व्यापार गर्ने कीर्तिमान अल्लु अर्जुनको ‘पुष्पा २’ को नाममा सुरक्षित थियो । तर रणवीर सिंहको ‘धुरन्धर’ ले उक्त रेकर्ड तोड्दै बलिउडलाई पुनः बक्स अफिसको ‘किङ’ बनाएको छ । रणवीर सिंहका लागि यो फिल्म करियरकै सबैभन्दा ठूलो कोशेढुङ्गा सावित भएको छ ।
सन् २०१७ पछि सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड सम्हाल्न बलिउडलाई गाह्रो परेको थियो । २०१७ देखि २०२३ मा रिलिज भएको फिल्म ‘जवान’ अघिसम्म सर्वाधिक कमाउने हिन्दी फिल्मको शीर्ष स्थानमा ‘बाहुबली २ : द कन्क्लुजन’को हिन्दी भर्सन थियो । तर, एक वर्ष नवित्दै ‘पुष्पा २’ले ‘जवान’को रेकर्ड खोस्यो । अब फेरि ‘धुरन्धर’ले बलिउडलाई शीर्ष स्थानमा पुर्याएको छ ।
बलिउडको अर्को बहुप्रतिक्षित फिल्म ‘बोर्डर २’ प्रदर्शनमा आउन अझै १५ दिन बाँकी छ । यो बीचमा ‘धुरन्धर’ का लागि खुला मैदान जस्तै छ । व्यापारिक विश्लेषकहरूका अनुसार फिल्मको वर्तमान रफ्तार हेर्दा यसले ९ सय करोडको ऐतिहासिक क्लबमा प्रवेश गर्ने सम्भावना प्रबल छ ।
फिल्मको व्यापारमा ठूलो गिरावट नआउनुलाई व्यापारिक दृष्टिकोणले निकै सकारात्मक मानिएको छ । सोमबारको कमाइ शुक्रबारको तुलनामा ५० प्रतिशतभन्दा कम मात्र घटेको छ, जसले फिल्म अझै लामो समय हलमा टिक्ने संकेत गर्दछ । दर्शकको उत्साह र हलमा देखिएको भीड हेर्दा ‘धुरन्धर’ को यात्रा अझै केही हप्तासम्म जारी रहने निश्चित छ ।



