‘टक्सिक’ मा यशको किलर लुक, फ्यानहरू भन्छन्- बक्स अफिसको वास्तविक धुरन्धर
काठमाडौं । कन्नड सिनेमाका ‘रकिङ स्टार’ यशले आफ्नो जन्मदिनको अवसर पारेर फ्यानहरूलाई विशेष उपहार दिएका छन् । लामो समयदेखि प्रतिक्षामा रहेको उनको नयाँ फिल्म ‘टक्सिक’ को ‘फर्स्ट लुक’ सार्वजनिक भएको छ, जसले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ ।
सार्वजनिक गरिएको टिजर र लुक्समा यश निकै फरक र आक्रामक अवतारमा देखिएका छन् । जसमा उनले ‘राय’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । टिजरले यशको यो पात्र निकै सन्की, हिंस्रक र शक्तिशाली रहेको प्रस्ट पारेको छ । एक्सनले भरिपूर्ण यस झलकमा यशको स्टाइल र ‘बोल्ड’ अवतारले फ्यानहरूलाई मन्त्रमुग्ध बनाएको छ ।
यशको नयाँ लुक्स बाहिरिएसँगै फ्यानहरूले उनलाई ‘बक्स अफिसको राजा’ भन्दै टिप्पणी गरिरहेका छन् । युट्युबमा टिजर आएपछि एक फ्यानले लेखेका छन्, “यश मैदानमा फर्किएका छन्, अब सबै रेकर्डहरू ध्वस्त हुनेछन् ।” अर्का फ्यानले उनलाई “वास्तविक बक्स अफिस धुरन्धर” को संज्ञा दिएका छन् ।
यो ग्याङस्टर–एक्सन थ्रीलर फिल्म ‘टक्सिक’ लाई गीतु मोहनदासले निर्देशन गरेकी हुन् । यसअघि ‘लायर्स डाइस’ र ‘मूथोन’ जस्ता गम्भीर र कलात्मक फिल्म निर्देशन गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा कमाएकी गीतुले यशलाई व्यावसायिक एक्सन फिल्ममा कसरी प्रस्तुत गर्छिन् भन्नेमा सबैको चासो थियो ।
यो फिल्म यशकै आफ्नै प्रोडक्सन हाउस ‘मोन्स्टर माइन्ड क्रिएशन्स’ को ब्यानरमा निर्माण भइरहेको छ । निर्माण पक्षका अनुसार फिल्मको मेकिङ अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।
फिल्म ‘टक्सिक’ को रिलिज मिति मार्च १९, २०२६ तोकिएको छ । ठ्याक्कै यही मितिमा अर्को बहुप्रतिक्षित फिल्म ‘धुरन्धर २’ पनि रिलिज हुने छ । ८०० करोडभन्दा बढीको कलेक्सन गरेर कीर्तिमान कायम गरेको ‘धुरन्धर’ को सिक्वेलसँग यशको फिल्म भिड्ने भएपछि सन् २०२६ को मार्चमा बक्स अफिसमा निकै ठूलो रोचक प्रतिस्पर्धा देखिने निश्चित छ ।
के ‘टक्सिक’ ले यशको अघिल्लो ब्लकबस्टर ‘केजीएफ’को सफलतालाई माथ देला? यो त समयले नै बताउनेछ, तर हाललाई भने यशको ‘राय’ अवतारले फिल्म बजार तातिएको छ ।



