‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ भिडन्तबारे दीपक भन्छन्- अरूको भन्दा पछाडि नै हेरिदिनुहोला

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले आफ्नो सुपरहिट चलचित्र ‘छमाया छपक्कै’ को दोस्रो भाग (सिक्वेल) आगामी दसैँमा रिलिज हुने बताएका छन् ।

कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को चलचित्र ‘गोबर गणेश’ को टिमसँगको विशेष भेटघाटका क्रममा दीपकराज गिरीले यो नयाँ प्रोजेक्टको बारेमा खुलासा गरेका हुन् ।

दीपकराज गिरीका अनुसार ‘छमाया छपक्कै २’ लाई पहिलो भागकै निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । “जहाँबाट यो सहकार्य सुरु भएको थियो, त्यहीँबाट यसलाई अगाडि बढाउने निर्णय गरेका छौँ,” दीपकले भने । चलचित्रको छायांकन आगामी चैत महिनादेखि सुरु हुने र यसलाई आउँदो वर्षको दशैँमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

शुभकामना लिन पुगेको ‘गोबर गणेश’को टिमसँग कुराकानी गर्ने क्रममा दीपकराज गिरीले नेपाली चलचित्र क्षेत्रमा हुने ‘जुहारी’ र ‘अस्वस्थ प्रतिस्पर्धा’ भन्दा पनि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

“हाम्रो प्रतिस्पर्धा अरूसँग होइन, आफ्नै कामसँग हुनुपर्छ । सबैको चलचित्र चलोस् भन्ने हाम्रो चाहना छ,” उनले भने, “चलचित्रहरू एकैदिन प्रदर्शन हुनुलाई ‘भिडन्त’ वा ‘जुध्न आएको’ भन्नु भन्दा पनि ‘एकैदिन लाग्न लागेको’ भनेर बुझनुपर्छ ।” उनले सबै चलचित्र चल्नुपर्ने र नेपाली चलचित्र क्षेत्र बलियो हुनुपर्ने धारणा राखेका छन् ।

लामो समयदेखि ‘छक्का पञ्जा’ सिरिजमा काम गरिरहेको यो टिमले दर्शकको चाहना र केही फरक स्वाद दिनका लागि ‘छमाया छपक्कै’ लाई रोजेको हो । दीपकले भने, “छक्का पञ्जा धेरै भयो भन्ने दर्शकको गुनासोलाई पनि सम्बोधन गर्दै हामीले यो निर्णय लिएका हौँ। यसको कथा अघिल्लो भाग जहाँ सकिएको थियो, त्यहीँबाट सुरु हुनेछ ।”

उनले यसपालि अरू चलचित्रको आलोचना गर्ने वा आफ्नो चलचित्रलाई मात्र ठूलो देखाउने भन्दा पनि सबैले मिलेर बजार बढाउनुपर्नेमा जोड दिएका छन् । गिरीले यसपटक कुनै पनि प्रकारको विवादास्पद टिप्पणी नगरी ‘१२ गाउँ २’ लगायतका अन्य चलचित्रहरूसँग स्वस्थ र मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने संकेत दिए ।

दीपकले भने, “हाम्रो चलचित्र अरूको भन्दा पछाडि नै हेरिदिनुहोला, तर हेरिदिनुहोला ।” यसको अर्थ, यदि दशैँमा ‘१२ गाउँ २’ वा अन्य कुनै ठूलो चलचित्र छ भने दर्शकले ती चलचित्र हेरेपछि मात्र आफ्नो चलचित्र हेरे पनि हुने, तर नछुटाइदिनुहोला भन्ने उनको आशय थियो ।

यस क्रममा दीपक-दीपाले बल्छी धुर्बेको आगामी माघ १ गतेबाट रिलिज हुने चलचित्र ‘गोबर गणेश’ लाई शुभकामना पनि दिएका थिए । बल्छी धुर्बेले दीपकराज गिरीलाई खादा ओढाएर ‘अग्रजको आशिर्वाद’ लिएका थिए ।

दीपकले बल्छी धुर्बेको मेहनतको प्रशंसा गर्दै सानो पर्दाबाट सुरु भएको उनको यात्रा ठूलो पर्दाको नायकसम्म पुग्नु सबैका लागि प्रेरणादायी भएको बताए ।