ट्रेलरमा स्पेस कम, पब्लिसिटीमा वर्षा शिवाकोटी झन् कम

काठमाडौं । चलचित्र ‘गोबर गणेश’ यतिबेला पब्लिसिटीमा छ । रिलिजको पूर्वसन्ध्यामा रहेको चलचित्रलाई लिएर निर्माण टिम पब्लिसिटीमा दौडिरहेको छ ।

पब्लिसिटीमा सिनेमाका मुख्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) आफैँ हिँडिरहेका छन् । उनी ‘गोबर गणेश’का निर्देशक र लेखक पनि हुन् । उनी पुजन घिमिरे (पुकु)लाई लिएर पब्लिसिटीमा हिँडिरेका छन् । अन्तर्वार्ताहरू दिँदै हिँडिरहेका छन् ।

तर, यो सिनेमामा बल्छिीको अपोजिटमा वर्षा शिवाकोटी रहेको बताइएको थियो । पोस्टरमा पनि वर्षा नै देखिएकी थिइन् । ट्रेलर लञ्च कार्यक्रममा पनि वर्षा थिइन् । तर, त्यसपछि भने मिडियामा वर्षाको खासै उपस्थिति देखिएको छैन ।

ट्रेलरमा वर्षाले खासै स्पेश पाएकी छैनन्, अन्तिममा नगन्य मात्रै देखिएकी छिन् । वर्षाको स्पेशलाई लिएर ट्रेलर सार्वजनिक कार्यक्रममा प्रश्न पनि उठेको थियो । त्यहाँ उनले यसबारे खासै खुलेर कुरा गरिनन्, निर्देशकलाई नै थाहा होला भनेकी थिइन् ।

त्यसपछि वर्षा ‘गोबर गणेशलाई लिएर चुपचाप प्रायः छिन्, जबकी ‘गोबर गणेश’को शुभमुहूर्तमा भने वर्षा निकै उत्साही देखिएकी थिइन् । पत्रकारले हास्य टेलिसिरियलबाट आएका कलाकारले सिनेमा उद्योगमा कब्जा गरिसके नि भन्दा उल्टै वर्षाले पत्रकारलाई तपाईंको प्रश्न नै भएन, हामी सबै एउटै क्षेत्रका कलाकार हौँ भनेकी थिइन् ।

तर, अहिले तिनै वर्षाको यही चलचित्रलाई लिएर पब्लिसिटीमा कम उपस्थिति देखिएको छ । के कारणले हो उनको उपस्थिति पातलो देखिएको ? ट्रेलरमा स्पेश नपाएको हो वा आफ्नो पर्सनल कारणले हो, त्यो भने केही दिनमा प्रष्ट हुँदै जाला । तर, मुख्य कलाकार नै पब्लिसिटीमा नदेखिँदा कारण के हो भनेर प्रश्न उठ्नु स्वभाविक हो ।

चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदै छ । बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।