चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौं । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ ।

इन्डियन आइडल सिजन–३ का विजेता समेत रहेका गायक तामाङको ४३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । उनको कार्डियाक अरेस्टले निधन भएको हो ।

नेपाली र भारतीय नेपालीभाषी माझ अत्यन्तै लोकप्रिय रहेका तामाङको निधनले कला क्षेत्रमा गहिरो शोक छाएको छ ।

दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङले आफ्नो गायन यात्रा निकै सङ्घर्षपूर्ण ढङ्गले सुरु गरेका थिए । कोलकाता पुलिसमा कार्यरत रहँदा उनले सन् २००७ मा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ मा सहभागिता जनाएका थिए । उनको सरल स्वभाव र सुमधुर स्वरले विश्वभरका नेपालीहरूको मन जितेको थियो ।

प्रशान्त तामाङ इन्डियन आइडलको उपाधि जित्ने पहिलो नेपाली मूलका व्यक्ति हुन् । उनलाई जिताउनका लागि दार्जिलिङ, सिक्किम र नेपालभरिका सङ्गीतप्रेमीहरूले अभूतपूर्व ऐक्यवद्धता देखाएका थिए । उनले पाएको त्यो मायाले सीमापारि रहेका नेपालीहरूलाई भावनात्मक रूपमा जोड्ने काम गरेको थियो ।

गायनमा सफल भएपछि प्रशान्तले नेपाली चलचित्र क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाए । उनले अभिनय गरेको पहिलो चलचित्र ‘गोर्खा पल्टन’ व्यावसायिक रूपमा निकै सफल भयो । उक्त चलचित्रमा उनले निभाएको भूमिका र त्यसमा समावेश गीतहरू आज पनि नेपाली दर्शकहरूको जनजिब्रोमा झुण्डिएका छन् ।
उनले ‘अङ्गालो यो मायाको’, ‘निशानी’, ‘परदेशी’ जस्ता थुप्रै चलचित्रमा अभिनय गरेका छन् । उनका गीतहरू ‘लाहुरेको रेलिमाई’, ‘एै सेलु’, ‘फूलको आँखामा फूलै संसार’ लगायतका दर्जनौँ गीतहरू लोकप्रिय छन् ।

गायक तामाङको अन्तिम फिल्म ‘लडाइँ पहिचानको’ गत मंसिर ५ गते प्रदर्शनमा आएको थियो । उनले हालै मात्र सलमान खानको एक चलचित्रमा भिलेनको रुपमा अभिनय गरिरहेका थिए ।

प्रशान्त तामाङ केवल एक कलाकार मात्र नभएर नेपाली समुदायको गौरव र प्रेरणाका स्रोत पनि थिए । उनको निधनको खबरसँगै सामाजिक सञ्जालमा कलाकार, प्रशंसक र शुभचिन्तकहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

तामाङकी श्रीमती र एक छोरी छन् ।